जानकी ट्यालेन्ट हन्टबाट छनोट

भैरहवा । लुम्बिनी लाभाजले ट्यालेन्ट हन्ट कार्यक्रमबाट जानकी केसीलाई आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल) प्रतियोगिताका लागि छनोट गरेको छ ।

ईडब्लूभीएलको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले आगामी सिजनको प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रमबाट केसीलाई छनोट गरेको हो ।

टिमका मुख्य प्रशिक्षक भरत यादव, कप्तान अरुणा शाही, एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे सहितको प्राविधिक टिमले केसीलाई छनोट गर्ने निर्णय गरेको हो । फ्रेन्चाईज प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी सहभागी थिए ।

लुम्बिनी लाभाजले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर केसीको नाम घोषणा गरेको हो । केसीलाई लुम्बिनी लाभाजकी म्यानेजर स्तुती निरौलाले सम्झौता पत्र प्रदान गरेकी छिन् । म्यानेजर निरौलाले स्थानीय खेलाडीको छनोटले टिमको प्रर्दशन र हौसला बढाउन सहयोग पुग्ने बताइन् ।

लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्धन गरेको छ ।

विदेशी खेलाडीको रुपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले सार्वजनीक गरिसकेको छ । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।

Published : Thursday, 2025 August 28, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया