बलिउड गायिका पलक सेप्टेम्बर १९ मा काठमाडौं आउने

काठमाडौं । बलिउडकी चर्चित गायिका पलक मुचालले पहिलोपटक नेपालमा प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

आउँदो सेप्टेम्बर १९, २०२५ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने पलक मुचाल लाइभ इन नेपाल कन्सर्टमा पलकले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन् ।

कार्यक्रमको प्रस्तुति वर्ल्डवाई फिल्म्स नेटवर्क प्रा.लि.ले गर्नेछ । व्यवस्थापन मनु मिडिया प्रा.लि.ले गर्नेछ ।

आयोजकका अनुसार, यसपटकको कन्सर्ट नेपाली दर्शकका लागि अविस्मरणीय बनाउने लक्ष्य राखिएको छ । विशेष रूपमा, यस कार्यक्रममा कोरियाली गायिका सेलिनेडी मटाहारीले पनि आफ्नो प्रस्तुति दिनेछिन् । उनी कोरियालीसहित १५ भन्दा बढी भाषामा गीत गाउन सक्ने क्षमता भएकी कलाकार हुन् । उनी अन्तर्राष्ट्रिय रूपमा चर्चित छिन् ।

आयोजक संस्था अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनीष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक अझ प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । नेपाली कलाकारहरूको पनि उत्कृष्ट प्रस्तुति रहनेछ ।

टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन् ।

Published : Sunday, 2025 August 24, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया