ट्रक चोर, गाडी चोर प्रकरण : मौनताले लिङ्देन दोषी भन्ने शंका बढ्यो

माननीय राजेन्द्र लिङ्देनज्यू

राप्रपाभित्र देखिएको पछिल्लो विवाद अब सहनसक्ने गरी सीमा नाघिसकेको छ । पार्टीलाई देश र जनताको विकल्प बनाउनुपर्ने बेलामा तपाईँको व्यक्तिगत अहंकार, अधिनायकवादी चरित्र र असक्षम नेतृत्व शैलीका कारण संगठन अस्तव्यस्त, दिशाहीन र विवादग्रस्त बनेको छ ।

सगुन सुन्दर लावती, मुकुन्दश्याम गिरी, धवलशम्सेर राणाजस्ता नेताहरु लक्षित प्रतिशोध सहितको कारवाही र रविन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगमा वैधानिकता नदिई तपाईँले पार्टीलाई फुटाउने काम गर्नुभयो । फरक मत राख्ने नेताहरूलाई ‘शत्रु’ ठानेर दमन गर्ने यो प्रवृत्ति न लोकतान्त्रिक हो, न संस्थागत । यो कदमले पार्टीभित्रै असन्तुष्टि चर्काएको छ ।

त्यसमाथि, राजु गैरे जस्तो निष्ठावान कार्यकर्तामाथि तपाईँकै स्वकीय सचिव छत्र खडायतले हेलमेट प्रहार गर्नु अराजकता र गुण्डागर्दीको प्रत्यक्ष प्रमाण हो । नेतृत्व आलोचना सुन्न सक्दैन भने त्यो नेतृत्व कस्तो ? हिंसाको प्रयोगले कार्यकर्ता डराउँदैनन्, बरु अझै आक्रोशित हुन्छन् भन्ने तपाईँले बुझ्नुपर्छ ।

अध्यक्षज्यू

आफ्नो जयजयकार गर्नेहरुको मात्रै गुणगान गर्ने प्रवृत्तिले पार्टीलाई खोक्रो बनाउँदैछ । चुनावको बेला पार्टी छोडेर स्वतन्त्र उठेकी खुश्बु ओलीलाई फेरि ल्याएर प्रशिक्षण विभागको उपप्रमुख बनाउनु— के त्यो निष्पक्षता हो ?

इमानदार र बलिदानी कार्यकर्तालाई किन अपमानित र निष्कासित गरिन्छ ? भ्यागुताले जस्तै कराउनेहरुलाई मात्र किन पद बाँडिन्छ ?

आज तपाईँको नेतृत्वमाथि ‘ट्रक चोर, गाडी चोर’ को आरोप खुलेर आएको छ । तर त्यसमा मौन बस्नुले तपाईँ दोषी नै हुनुहुन्छ भन्ने शंका जनतामाझ अझै प्रष्ट पारेको छ । निर्दोष हुनुहुन्थ्यो भने किन स्पष्टीकरण दिन सक्नुभएन ? सत्य लुकाउने नेतृत्वले देश, जनता र पार्टी कसरी चलाउने ?

माननीय अध्यक्षज्यू

यो पार्टी तपाईँको निजी कम्पनी होइन । पद बाँडफाँड गर्ने फर्म होइन । यो लाखौँ कार्यकर्ताको रगत–पसिना र आस्थाले बनेको संगठन हो । यदि यसैगरी तपाईँले पार्टीलाई आफ्नो स्वार्थको उपकरण बनाउँदै जानुभयो भने अब कार्यकर्ताले सडकमा उत्रन बाध्य हुनेछन् । हामी पार्टीलाई तपाईँका अधिनायकवादी प्रवृत्तिको गुलाम बनाउन दिने छैनौँ ।

आज म पोखराबाट स्पष्ट चेतावनी दिन चाहन्छु— यदि तपाईँले तुरुन्तै आफ्नो शैली सुधार्नुभएन, आन्तरिक विवादलाई संवाद र विधानअनुसार समाधान गर्नुभएन भने, ईमानदार कार्यकर्तामाथि हिंसा गर्ने गतिविधि रोक्नुभएन भने, पद बाँड्ने असमानता अन्त्य गर्नुभएन भने— अबको आन्दोलन तपाईँकै कुर्सीविरुद्ध हुनेछ ।

राप्रपा भनेको केवल राजेन्द्र लिङ्देन होइन । राप्रपा भनेको कार्यकर्ताको सपना हो, राष्ट्रवादीहरुको आशा हो, आम नेपालीको विश्वास हो । त्यो विश्वासलाई ध्वस्त पार्ने अधिकार तपाईँलाई छैन ।

अन्त्यमा, यो खुला पत्र केवल मेरो व्यक्तिगत आक्रोश होइन, हजारौँ मौन कार्यकर्ताको आवाज हो । अब तपाईँले सुन्नुभयो भने इतिहासले तपाईँलाई बचाउनेछ, तर बेवास्ता गर्नुभयो भने इतिहासले तपाईँलाई क्षमा गर्ने छैन ।

(पोखराका विजय पराजुलीको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई खुला पत्र)

Published : Thursday, 2025 August 21, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया