मारियोना र सालाहलाई उत्कृष्ट वर्ष खेलाडीको उपाधि

लण्डन । लिभरपुलका विंगर मोहम्मद सालाहले व्यावसायिक फुटबलर संघले प्रदान गर्ने उत्कृष्ट वर्ष खेलाडीको पुरूषतर्फको अवार्ड जितेका छन् ।

महिलातर्फ आर्सनलकी मारियोना काल्दान्तेई विजेता बनिन् । इजिप्टका सालाह यो अवार्ड तेस्रो पटक जित्ने पहिलो खेलाडी हुन् ।

गत सिजन लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

३३ वर्षीय सालाह सन् २०२४–२५ को प्रिमियर लिग सिजनको उच्च गोलकर्ता हुन् । उनले २९ गोल गर्दा १८ एसिस्ट गरेका थिए । सालाहका टिम मेट एलिक्सिस माक एलिस्टर, म्यानचस्टर युनाइटडेका कप्तान ब्रुनो फर्नान्डेज, न्युक्यासलका स्ट्राइकर अलेक्जान्दर इसाक, चेल्सी फरवार्ड कोल पाल्मर र आर्सनलका डेक्लान राइस सर्ट लिस्टमा रहेका थिए ।

सालाहले २०२४–२५ को प्रिमियर लिगमा प्लेयर अफ द सिजन र फुटवल राइटर्स एसोसिएसनबाट फुटबलर अफ द इयरको अवार्ड पनि हात पारेका थिए । एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्स वर्षको उत्कृष्ट युवा खेलाडी चुनिए ।

महिलातर्फ अवार्ड जित्ने क्रममा मारियोनाले आर्सनल टिम एलिसिया रूसो, म्यानचेस्टर सिटीका मेरी फ्लावर, युइ हासेगावा, चेल्सीकी एरिन कथबर्ट र म्यानचेस्टर युनाइटेडकी फलन टुलिसलाई पछि पारेकी हुन् ।

स्पेनिस मारियोनाले गत सिजन सवै प्रतिस्पर्धामा गरी ४१ खेलमा १९ गोल गरेकी थिइन् । आर्सनलकै ओलिभिया स्मिथ उत्कृष्ट युवा खेलाडी बनिन् ।

Published : Wednesday, 2025 August 20, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया