वीरगञ्जमा सरिता पक्राउ, ३ महिलाको उद्धार

वीरगञ्ज । मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले २८ वर्षीया सरिता सिर्मललाई पक्राउ गरेको छ ।

गोरखाको गोरखा नगरपालिका वडा नं.४ स्थायी घर भएकी सरितालाई मंगलबार दिउँसो प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सरिताले कास्की, झापा, काठमाण्डौ, धादिङ, चितवन, बाग्लुङ र मकवानपुर लगायतका जिल्लाहरूबाट सर्वसाधारण महिला तथा बालिकाहरूलाई राम्रो काम लगाइ दिने, नयाँ–नयाँ लत्ताकपडाहरू खरिद गरिदिने, विवाहको प्रलोभनमा पार्ने र पैसा दिने जस्ता बिभिन्न किसिमका प्रलोभन देखाई ललाई फकाई गरी मानव बेचबिखन तथा ओसार–पसार गरेको अभियोग प्रहरीले लगाएको छ ।

गम्भीर अपराधजन्य घटनाहरू भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहत प्रहरी चौकी, ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटस्थित सडकखण्डबाट सरितालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरिताले तीन जना महिलाहरूलाई हेटौँडाबाट गाडी चढाइ वीरगञ्जमा ल्याइ वीरगञ्जबाट अटोमा भारतको रक्सौलतर्फ लाने क्रममा तत्कालै पीडितहरूलाई सकुशल उद्दार गरी सरितालाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूरमा अनुसन्धान सुरु भएको छ ।

सरितालाई प्रहरीले पर्सा जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।

Published : Wednesday, 2025 August 20, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया