तरुण दलको पाँचौँ महाधिवेशन मंसिर २६ देखि २८ सम्म हुने, कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सोमबार अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै कार्यतालिका अनुसार अधिवेशन गर्न निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसबाट अनुमोदन भई नेपाल तरुण दल केन्द्रीय कार्यसमितिलाई प्राप्त भएको तरुण दलको पाँचौँ महाधिवेशनको कार्यतालिका बमोजिम अधिवेशन गर्न गुरुङले निर्देशन दिएका हुन् ।

२०८२ भदौ १५ गतेभित्र तरुण दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्न भनिएको छ । भदौ मसान्तभि तरुण दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्र, जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरी सक्ने कार्यतालिका रहेको छ ।

२०८२ कात्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्ष गुरुङले सार्वजनिक गरेका छन् ।

२०८२ मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ । नेपाल तरुण दलको पाँचौँ महाधिवेशन २०८२ साल मंसिर २६, २७ र २८ गते सम्पन्न गर्ने निर्णय भएको तरुण अध्यक्ष गुरुङले बताएका छन् ।

अध्यक्ष गुरुङले जिल्ला अधिवेशनको तयारीमा रहेका जिल्लाहरूले केन्द्रसँग समन्वय गरी उल्लेखित कार्यतालिका भन्दा अगावै जिल्ला अधिवेशन गर्न सक्ने सुविधा रहेको बताए ।

Published : Monday, 2025 August 18, 12:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया