गोंगबुको होटलमा ललिताको हत्या, अभियुक्त सन्तोष फरार
काठमाडौं । पत्नी ललिता बि.क.को हत्या गरेर पति सन्तोष सेञ्चुरी फरार भएका छन् ।
साउन २७ गतेदेखि हराइरहेकी काठमाडौंको बूढानीलकण्ठकी ललिता शुक्रबार राति गोंगबुस्थित बसपार्क नजिकैको होटलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता (एसपी) अपीलराज बोहराले बताए । ललिताको शव होटलको कोठामा रहेको बेडभित्र भेटिएको बोहराले बताए ।
बसपार्कको होटलको कोठामा गन्ध आएको अवस्थामा महिलाको शव भेटिएको सूचना प्रहरीमा आएपछि घटनाका विषयमा पत्ता लागेको थियो । सन्तोषले ललिताको हत्या गरेर होटलको बेडभित्र लाश लुकाएको अनुसन्धानका क्रममा खुलेको छ । होटलको कोठामा अन्य व्यक्ति बस्न जाँदा कोठामा गन्ध आएपछि होटल कर्मचारीलाई खबर गरेका थिए ।
सन्तोषले गोंगबु मित्रनगरमा रहेको कञ्चन कोशी होटल एन्ड लजको २०१ नम्बर कोठा बुक गरेर ललितालाई लगेका थिए । सोही दिन नै सन्तोषले ललितालाई कुटपिट गरी मुख थुनेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । राति सँगै बसेका जोडीहरू बिहान नदेखिपछि पैसा नतिरी फरार भए होलान भनेर होटलका कर्मचारीले सन्तोषलाई फोन गरेका थिए । सन्तोषको मोबाइल अफ थियो ।
ललितकी १ वर्षकी छोरी छिन् । ललिता असनको गार्मेन्टमा काम गर्दै आएकी थिइन् । अन्य दिन खासै फोन नगर्ने ललिताका श्रीमान् सन्तोषले उक्त दिन ललितालाई पटक–पटक फोन गरेका थिए । साँझ ६ बजेसम्म ललिताको फोन लागिरहेकै थियो । साँझसम्म घर नपुगेपछि ललिताका आफन्त र माइती पक्षले खोजी सुरु गरेका थिए ।
ललिताका पति सन्तोष ट्याक्सी चालक हुन् । दुई वर्षअघि मागी विवाह गरेका थिए ।
प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाले मृतक ललिताका पति सन्तोष पनि ललिता हराएको भन्दै प्रहरीमा आएको बताए । प्रहरी र आफन्तको साथमा श्रीमती खोज्न भन्दै सन्तोष सँगै हिँडेका थिए ।
एसपी बोहोराले घटनाको प्रारम्भीक अनुसन्धानमा सन्तोषले नै ललिताको हत्या गरेको देखिएको आशंका गरिएको बताएका छन् । आफन्तका अनुसार केही महिनादेखि उनीहरूको सम्बन्धमा दरार आएको एसपी बोहराले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया