माओवादीले हत्या गरेका शहीद खनालको सालिकको सभापति देउवाद्वारा अनावरण

भिमाद । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँको भिमाद नगरपालिका–६ मा निर्माण गरिएको शहीद कल्याण खनालको अर्धकदको सालिकको अनावरण गरेका छन् ।

मंगलबार शहीद कल्याण खनालको २३औँ स्मृतिसभाको अवसर पारेर शहीद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् ।

नेपाली कांग्रेसका तत्कालीन नेता स्व. खनालको विक्रम संवत् २०५९ साउन २७ गते तत्कालीन समयमा माओवादीले हत्या गरेका थिए ।

स्व.खनालको योगदानको सम्झनाका लागि भिमादमा सालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताएका छन् ।

यसैबीच, सभापति देउवाले सहिदका अधुका काम पूरा गर्नुपर्ने बताएका छन् । देउवाले शहीदहरूले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेवारी भएको बताए । उनले भने, ‘हामीले सहिदको योगदान खेर जान दिनुहुन्न । ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु हुँदैन । उहाँहरूले छोडेका कामलाई पूरा गर्नुपर्छ र परिवारलाई पनि सम्मान दिनुपर्छ ।’

देउवाले शहीदका परिवारलाई सम्मान र सहयोग आवश्यक रहेको बताए । देउवाले कांग्रेसले शहीद परिवारलाई निरन्तर सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यसमा कमी नआउने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति देउवाले भने, ‘तनहुँ २००७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएको र यहाँका नेताहरूले प्रजातन्त्र तथा गणतन्त्रका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।’

देउवाले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका कल्याण खनालको परिवारलाई पनि पार्टीतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । शहीद कल्याण खनाल स्मृति प्रतिष्ठानले भिमाद नगरपालिका–७ शिवालयटोल प्रहरी चौकी नजिक कथित जनयुद्धको बेला माओवादी आक्रमणबाट ज्यान गुमाएका शहीद कल्याण खनालको अर्धकदको सालिक निर्माण गरेको छ ।

कार्यक्रममा कांग्रेसका नेता गोपालमान श्रेष्ठ, डा.शशांक कोइराला, शंकर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2025 August 12, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया