माओवादीका विद्यार्थी नेताहरूद्वारा त्रिविका रजिष्ट्रार रिजाललाई कुटपिट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता, कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार केदार रिजालमाथि हातपात गरेका छन् ।

त्रिवि उपकुलपति प्राडा. दीपक अर्यालको कार्यकक्ष अगाडि ढोकामा रिले अनशन बसेका क्रान्तिकारी नेताहरूले रजिस्ट्रार रिजालमाथि हातपात गरेको त्रिवि प्रशासनले जनाएको छ ।

उनीमाथि हातपात गरेको भन्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष अटल आचार्य, उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठलगायतका नेताहरू पक्राउ परेका छन् । अर्यालको कार्यकक्ष अगाडि ढोकामा अखिल क्रान्तिकारीले १९ दिनदेखि धर्ना दिइरहेको थियो ।

विद्यार्थी नेताहरूले रजिस्ट्रार रिजाललाई टेबल क्यालेण्डर प्रहार गर्नुका साथै पानीको गिलासले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । तोडफोडबाट रजिस्ट्रार कार्यालय क्षतिग्रस्त भएको छ भने रजिस्ट्रार रिजाललाई सामान्य चोट लागेको छ । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको छ ।

Published : Monday, 2025 August 11, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया