नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।

साेमबार नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग डा.राणाले नेपालगन्ज-दिल्लीसम्म उडानका लागि कुटनैतिक पहल गर्ने बताएकी हुन् ।

डा.राणाले भनिन्, “सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।”

उनले नेपाल र भारतका बीच कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै डा.राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले परराष्ट्रमन्त्री डा.राणालाई भेटेर सो आग्रह गरेको हो ।

त्यस अवसरमा उनीहरूले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने बताएका छन् ।

Published : Monday, 2025 August 11, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया