मौलिक पर्वहरू हाम्रो पहिचान, सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनै पूर्णिमा र गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार शुभकामना सन्देश जारी गरेर देउवाले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजाति÷समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरू छन् ।’

‘यिनै चाडपर्वहरूमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्,’ देउवाले भने ।

‘यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ,’ उनले भने, ‘यस्ता मौलिक पर्वहरू हाम्रो पहिचान मात्र होइन, सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक पनि हुन् ।’

सभापति देउवाले भने, ‘लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुन्छ, जसले सबै संस्कृतिको संरक्षण र सम्वर्धनमा योगदान पुर्‍याउँछ ।’

‘हामी सबैले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी हो,’ देउवाले भने ।

उनले भने, ‘नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनै पूर्णिमा र गाइजात्राको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published : Saturday, 2025 August 9, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया