पहिला सभापतिलाई बलियो बनाऔँ, त्यसपछि कांग्रेसमा आकर्षण बढ्छ र एक्लै चुनाव लडौँ : नेता चौधरी
घोराही । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टी सभापति शेरबहादुर देउवालाई कमजोर बनाउँदा कांग्रेस कमजोर हुने बताएका छन् ।
बिहीबार दाङमा आयोजित कांग्रेस निकटको किसान संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले कांग्रेसलाई बलियो बनाउने कुरामा सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताए । उनले सभापति शेरबहादुर देउवालाई गाली गरेर वा कमजोर बनाएर कांग्रेस बलियो बन्न नसक्ने बताए ।
उनले भने, ‘सभापति शेरबहादुर देउवाले वा मैले मात्रै यो कुरा गरेर होइन । हामी सबैले आ–आफ्नो क्षेत्रबाट संगठनलाई योगदान दिनुपर्छ । मैले अरुलाई गाली गरेर संगठन बन्दैन होला ?’
‘तथानाम गाली गर्ने । सधैँ सभापतिज्यूलाई कमजोर बनाउने षड्यन्त्र गर्ने, अनि पार्टी कमजोर भयो भनेर बाहिर कराउने ?,’ प्रश्न गर्दै नेता चौधरीले भने, ‘जो सुकै होस् अहिले पार्टी सभापति शेरबहादुर देउवालाई बलियो बनाउनुपर्छ की पर्दैन ? अनि शेरबहादुर देउवालाई कमजोर बनाउने, पार्टी सक्कियो भनेर बाहिर रुवाबासी गर्ने ? यो कहाँको संगठन गर्ने विधि हो ?’
‘त्यसैले पहिला पार्टी सभापतिलाई बलियो बनाऔँ । पार्टी सभापति भनेको संस्था हो । संस्था बलियो भयो भने संगठनप्रतिको आकर्षण बढ्छ’, चौधरीले भने, ‘यसको सामूहिक प्रतिवद्धता गर्छौं । अबको प्रतिवद्धता भनेको एक्लै निर्वाचन लडेर सबै तहको सरकारमा कांग्रेसले नेतृत्व गरेर देशको अनुहार बदल्ने हो ।’
नेता चौधरीले कांग्रेसको नेतृत्वमा एकलौटी सरकार बनाउन नसक्दा किसानहरूको समस्या समाधान गर्न नसकिएको बताए । उनले भने, ‘कृषिसहितका हरेक क्षेत्रमा देखिएको बेथिति हटाउन नेपाली कांग्रेसको सरकार चाहिन्छ । ठूलो दल मात्रै भएर हुँदैन । कांग्रेसको बहुमत आउनुपर्छ ।’
‘सरकारको नेतृत्व गर्न पाएका छैनौँ । ठूलो दल मात्रै भएर नेतृत्व गर्न नपाइँदो रहेछ । सरकारको नेतृत्व गर्न नपाएपछि हामीले जे भनेर भोट मागेका थियौँ कार्यान्वयन गर्न सक्दैनौँ,’ चौधरीले भने, ‘भोट माग्यौँ । जनताले भोट पनि दिए । जिताएर पठाए । हाम्रो घोषणापत्रमा लेखिएको कुरा कार्यान्वयन गर्न नेतृत्वमा जानुपर्छ । मिलिजुली सरकार छ ।’
उनले भने, ‘कहिले एमालेसँग मिल्छौँ । कहिले माओवादीसँग मिल्छौँ । नीति तथा कार्यक्रम आधा एमाले, आधा माओवादी, आधा कांग्रेसको जस्तो देखिने गरेको छ । यी सबै कुरालाई समाधान गर्न एक्लै निर्वाचन लड्ने, एक्लै बहुमत ल्याउने एकलौटी सरकार पाँच वर्ष चलाएर देशको अनुहार बदल्नुपर्छ ।’
‘कृषि प्रणालीमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेसको बहुमतको सरकार बन्न आवश्यक्त छ । हामी एकातिर कृषि उत्पादनको कुरा गर्छौं । अर्कोतर्फ नेपालको सबैभन्दा ठूलो सिंचाइ योजना, सफल योजना हो प्रगन्ना सिंचाइ योजना,’ नेता चौधरीले भने ।
‘त्यो सिञ्चित क्षेत्रमा शहर बसाल्ने योजना ल्याइदियौँ । हामीले राजधानी ल्याइदियौँ । सरकार यसमा आफै पनि अलमलमा परेको देखिन्छ,’ थारु विभागका प्रमुख समेत रहेका नेता चौधरीले भने, ‘सरकारले एकातिर उत्पादन बढाउन भन्छ, उत्पादन हुने ठाउँमा शहरीकरण र राजधानी बसाल्ने अवधारणासहितको निर्णय गर्छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया