सहकारी ठगका अभियुक्त रविबारे प्रकाशित सामग्री र तस्बिर फेक, नयाँ पत्रिकाको झुठ्ठको पर्दाफास

काठमाडौं । कारागार कार्यालय, रुपन्देहीले कारागार कार्यालयको विषयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार कारागार प्रशासक सुरेश भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर समाचारमा प्रकाशित तस्बिर रुपन्देही कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेखित भएजस्तो अवस्था नरहेको बताएका छन् ।

‘सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रुपमा विगत चार महिनादेखि पूर्वउपप्रधानमन्त्री तथा हाल निलम्बनमा रहनु भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘उहाँको सुरक्षालाई ध्यानमा राखी कारागार प्रशासनले एउटा छुट्टै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा कारागार प्रशासक भण्डारीले भने, ‘कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधान समेत गर्ने गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा विभेद नगरिकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । उहाँले चाहेको खण्डमा मात्रैबाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ ।’

‘सुरक्षाका दृष्टिले संवेदशील क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनु हुन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ कारागार प्रशासक भण्डारीले भनेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट मानिने नयाँ पत्रिका दैनिकले शुक्रबारको अंकमा कारागार कार्यालय, रुपन्देही र सहकारी ठगका अभियुक्तका विषयमा तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै कारागार प्रशासकले विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।

नयाँ पत्रिका दैनिकले रास्वपाका सभापति समेत रहेका सहकारी ठगका अभियुक्त लामिछाने बसेको कोठा भनेर एआईबाट बनाइएको फेक तस्बिर राखेर भ्रम पारेको छ । आलोचना भएपछि नयाँ पत्रिका दैनिकले आफ्नो अनलाइन संस्करणमा एआईबाट बनाइएको तस्बिर भनेर स्विकार गरेको छ ।

Published : Friday, 2025 August 8, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया