नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउनुपर्छ : भानु खरेल

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेलले नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउन अत्यावश्यक रहेको बताएका छन् ।

एनसीसी अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका खरेलले आफ्नो टिम निर्वाचित भएमा दुइ देशबीच दोहोरो कर हटाउने सम्बन्धी सम्झौता (डीटीएए) गर्न दुबै सरकारहरूसंग पहल गर्ने बताए । ‘हाम्रा छिमेकीहरू भारत, पाकिस्तान, बांगलादेश लगायतका मुलकहरूसंग अमेरिकाले दोहोरो कर हटाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हामीले संस्थागत रुपमा पहल गर्‍यौं भने नेपालसंग पनि त्यो सम्भव छ,’ उनले भने ।

खरेलले त्यस्तो सम्झौता भएमा आइटी उद्योग लगायत नेपालमा एनआरएन लगानी वृद्धि गर्न पनि मद्दत पुग्ने जनाए ।

अमेरिकास्थित नेपाली राजदूतावासको सहयोगमा काठमाडौंस्थित आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आईटी) निर्यात ५१५ मिलियन अमेरिकी डलर पुगेको थियो, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो ।

आईटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो । २०२३ मा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका उक्त अध्ययनले देखेको छ ।

सन् २०१५ को महाभूकम्पका बेला नेपालमा गएर हप्तौं सेवा गरेका खरेलले कोभिड–१९ महामारीका बेलापनि अमेरिकास्थित नेपाली समुदायले अक्सिजन कन्सनट्रेटर लगायत औषधिमूलो नेपाल पठाएको स्मरण गरे ।

‘हाम्रो टिम निर्वाचित भएमा एनआरएन नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, आउँदो पाँच वर्षमा नेपालबाट अमेरिकामा गरिने आइटी निर्यात दोब्बर पार्न कार्ययोजना बनाउने तथा नेपाली बिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरूलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु,’ उनले भने ।

अध्यक्षका उम्मेदवार खरेलले आफू निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर पहिलो र दोस्रो पुस्ताका नेपालीहरूबीचको खाडललाई पुर्ने जनाए । उनले एनआरएनएभित्र पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवर्द्धन तथा नेपाली विद्यार्थीको समस्या समाधान गर्नका लागि पनि संस्थागत रुपमा पहल गर्ने बताए ।

टिम भानुको तर्फबाट एनसीसी अमेरिकाको वरिष्ठ उपाध्यक्षमा सरोज सिग्देल, उपाध्यक्ष पदमा विष्णु बराल, बल राई, एकदेव शर्मा, सी.के. पराजुली, महिला उपाध्यक्ष पदमा दुर्गा तिवारी, युवा उपाध्यक्षमा नवराज न्यौपाने, महासचिवमा अनुप खनाल लगायतले उम्मेद्वारी घोषणा गरेका छन् ।

खरेलले एनआरएनहरुलाई नेपाली नागरिकसरह नेपालमा लगानीको वातावरण बनाउन नेपाल सरकारलाई आग्रह पनि गरे ।

एनसीसी अमेरिकाका वर्तमान महासचिव रामहरि अधिकारी तथा सत्येन्द्र साहले पनि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । यही अगष्ट १६ र १७ मा एनसीसी अमेरिकाको नयाँ कार्यसमिति चयन गर्न निर्वाचन हुँदैछ । एनआरएनएका बद्री केसी पक्षधर समूहले भने विकास उप्रेतीको अध्यक्षतामा छुट्टै कार्यसमिति गठन गरिसकेको जनाएको छ ।

Published : Friday, 2025 August 8, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया