कांग्रेस सांसद एवम् पूर्वराज्यमन्त्री तामाङको कन्स्ट्रक्सनसँग दुई दर्जन कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं । राजनीतिक संरक्षण र पहुँचको भरमा ठेक्काको काम लिएर समयमा कार्य सम्पन्न नगर्ने नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’को कान्छाराम कन्स्ट्रक्सनसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ ।

कार्यालयले ग्रामीण सडक सञ्जाल सुधार आयोजना ललितपुरकै सिफारिसमा पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनीसँग सात दिने स्पष्टीकरण मागिएको छ ।

कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएपछि कार्यालयले सात दिने स्पष्टीकरण मागेको हो । कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि नबुझाएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । अटेर गरेर स्पष्टीकरण बुझाउन अटेर गर्ने कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन मौका दिइएको छ ।

सडक डिभिजन नुवाकोटबाट ६ वटा कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस भएको छ । ती कम्पनीहरूमा टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेवकुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा, राजु तितुङ तामाङ मुख्य व्यक्ति भएको लोबेन निर्माण सेवा, नवीन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रा.लि., सानुमाया लामा मुख्य व्यक्ति भएको शिलाकन्यादेवी कन्स्ट्रक्सन प्रा.लि. र गोसबहादुर तामाङ मुख्य व्यक्ति भएको लाङलाङ÷मानेज्यार्सा जेभी छन् ।

चितवनको भरतपुर महानगरपालिकाबाट कालोसूचीमा राख्न सिफारिस भएको रामशरण बुढाथोकी र ज्ञानुप्रसाद चौलागाईं मुख्य व्यक्ति रहेको एमएस वर्ल्ड वाइड धुलिखेल जेभी बानेश्वरसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

सडक डिभिजन इलामको सिफारिसमा तिमल्सेना निर्माण सेवा पाँचथरलाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ । यो कम्पनीको मुख्य व्यक्ति सुदन अधिकारी हुन् ।

तेजबहादुर लिम्बु मुख्य व्यक्ति भएको आरटी निर्माण सेवा सुनसरी, मैना शाही मुख्य व्यक्ति भएको विनम्र निर्माण सेवा सुर्खेत, राकेशप्रसाद जायसवाल मुख्य व्यक्ति भएको जायसवाल कन्स्ट्रक्सन धनुषा, कुवेर लम्साल मुख्य व्यक्ति भएको तुल्सी इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि काठमाडौं, राजेश कुमार कुँवर मुख्य व्यक्ति भएको वाई पी÷विकास एण्ड ब्रदर्श÷आत्रेय जेभी काठमाडौं, रामकुमार थापा मुख्य व्यक्ति भएको लोहनी÷आत्रेय जेभी शंखमुल काठमाडौं पनि कालोसूचीमा राख्न सिफारिस भएकाले सात दिने स्पष्टीकरण मागिएको छ ।

रमेश आचार्य मुख्य व्यक्ति भएको र बूढानीलकण्ठ नगरपालिका १० काठमाडौं ठेगाना भएको मेडिवेल फार्मेसी प्रा.लि.सँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ । मेडिवेललाई कालोसूचीमा राख्न शिवालय गाउँपालिका, जाजरकोटले सिफारिस गरेको छ ।

नेपाल वायुसेवा निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागले जीना थापाको प्राप्ति इन्टरप्राइजेज, काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ । खड्गप्रसाद अमगाई मुख्य व्यक्ति भएको अनिवार्य बिल्डर्स प्रालिसँग पनि स्पष्टीकरण सोधिएको छ ।

कालोसूचीमा राख्न सिफारिस भई सात दिने स्पष्टीकरण सोधिएका कम्पनीहरूमा चिनियाँ कम्पनीहरू पनि छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको सिफारिसमा एम÷एस जिन्यु टेक्नोलोजिज र शहरी विकास मन्त्रालयको ग्रामीण सडक सन्जाल सुधार आयोजनाको सिफारिसमा एम÷एस छोङछिङ इन्टरनेसनल कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

ओमप्रकाश यादव मुख्य व्यक्ति भएको दिनकर कन्स्ट्रक्सन प्रा.लि., ध्रुवप्रसाद भट्टराई मुख्य व्यक्ति भएको न्यू डि.पी. निर्माण सेवा काठमाडौं र तुल्सीराम कोजी मुख्य व्यक्ति भएको कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स काठमाडौंसँग पनि सात दिने स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक खरिदका कुनै पनि प्रक्रियामा भाग लिन पाइँदैन ।

Published : Friday, 2025 August 8, 8:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया