भिजिट भिसा प्रकरणमा फ्रान्सेली महिला काठमाडौंबाट पक्राउ
काठमाडौं । अध्यागमन विभागले भिजिट भिसा लिएर व्यापार गर्दै आएकी फ्रान्सेली महिलालाई नियन्त्रणमा लिएको छ ।
ती महिलाले भिजिट भिसा र विद्यार्थी भिसा लिएर काठमाडौंको लैनचौरमा टेरा साम्पा नामको बेकरी सञ्चालन गरेको अभियोग छ । ती विदेशी महिलाले ललितपुरको रैथाने फुड्समा समेत सहलगानी गरी व्यवसाय सञ्चालन गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
फ्रान्सेली महिलालाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ । हप्ताको ३ देखि ४ दिन बेकरी खोल्ने र आफ्नै ई–सेवा खातामार्फत् अनलाइन भुक्तानी लिने गरेको देखिएको छ । ती महिलाले थोरै ग्राहकसँग प्रत्यक्ष भेटघाट गर्ने गरेकी थिइन् ।
नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले व्यवसाय सञ्चालन गर्न पाईंदैन । व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्छ । काम गर्ने विदेशी नागरिकले वर्किङ भिसा लिएको हुनुपर्छ ।
सन् २०१४ देखि पटक–पटक नेपाल आउने र जाने गरेकी उनी प्रत्येक वर्षको अन्त्यतिर टर्की, यूएईलगायतका तेस्रो मुलुक जाने र पुनः नेपाल प्रवेश गर्दै आएको खुलेको छ । उनी हालसम्म १५ पटकभन्दा धेरै नेपाल आएको र त्यति नै पटक नेपालबाट प्रस्थान भएको देखिएको छ ।
ती विदेशी महिलाले पटक–पटक वाल्मीकि विद्यापीठमा भर्ना भई अध्ययन भिसा लिने तर, अध्ययन पूरा नगरी पर्यटक भिसा लिएर नेपालमा व्यापार व्यवसायसमेत सञ्चालन गर्दै आएको देखिएको प्रहरीको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया