अनलाइनहरूलाई सीडीओमातहत लैजाने सरकारको निर्णयको पत्रकार महासंघद्वारा विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार महासंघले प्रेस विज्ञप्ति जारी गरेर विद्यमान संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता, सञ्चालन र नवीकरणको व्यवस्था संविधानको प्रावधान र संघीय शासन प्रणाली विपरित रहेको जनाएको छ ।

‘यो व्यवस्थालाई पत्रपत्रिका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता गर्ने एकतन्त्रीय पंचायतकालीन प्रावधानकै निरन्तरताका रुपमा लिन सकिन्छ,’ पत्रकार महासंघले जनाएको छ ।

‘सरोकारवाला पक्षसँग व्यापक छलफल र परामर्शमा नीति निर्माण गर्ने लोकतान्त्रिक संस्कार र मान्यता विपरित सरकार र संघीय संसदको मिलेमत्तोमा ल्याइएको नयाँ प्रावधान आपत्तिजनक, अस्पष्ट र अव्यवहारिक रहेकोे महासंघको बुझाई छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘एकातिर दीर्घकालीन प्रभाव पार्ने कानूनी व्यवस्था कार्यान्वयनमा आउनु, अर्कोतिर दर्ता भई सञ्चालनमा रहेका करिब पाँच हजार वटा अनलाइन सञ्चारमाध्यमको अवस्था के हुने, नवीकरण कहाँ के कसरी गर्ने भन्ने अन्यौलताबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ठाडो आदेशमा सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य हठात स्थगन गर्नुले थप सन्देह पैदा गरेको छ,’ पत्रकार महासंघले जनाएको छ ।

‘अहिलेको डिजिटल युगमा पत्रपत्रिका समेत दर्ता नगर्ने कतिपय देशको अभ्यास र आमसञ्चारसम्बन्धी छाता ऐनको मस्यौदामा नै सबै सञ्चारमाध्यम पालिकामा दर्ता गर्ने प्रावधान उल्लेख गरिएको सन्दर्भमा सरकारले चालेको पछिल्लो कदमलाई उल्टो बाटोमा हिडन खोजेको अर्थमा लिन सकिन्छ,’ पत्रकार महासंघले भनेको छ ।

‘सञ्चारमाध्यम यस सम्बन्धी विभागीय मन्त्रालय वा त्यस मातहतकै निकायसँग सम्बन्धित विषय हो । यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखाएको उदासिनता आपत्तिजनक छ,’ पत्रकार महासंघले भनेको छ ।

‘दर्ता भएका अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न महासंघ सरकारसँग अनुरोध गर्दछ,’ महासंघले भनेको छ, ‘यसका साथै विद्यमान अन्यौलता हटाई अनलाइन सञ्चारमाध्यम सहज संचालनको प्रवन्ध मिलाइ प्रेस स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गर्दछ । अन्यथा महासंघ आवश्यक परामर्शपछि आन्दोलित हुन बाध्य हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछ ।’

Published : Thursday, 2025 August 7, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया