हरिबहादुरको जुत्ताको नयाँ पोष्टर सार्वजनिक
काठमाडौं । अभिनेता हरिवंश आचार्य अभिनित चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ पोष्टर सार्वजनिक भएको छ ।
बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ । पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेका छन् ।
सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ । पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन् ।
प्रकाश केहि रिसाएको मुडमा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छिन् । यसले चलचित्र रमाइलो र पारिवारिक रहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक पोष्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन् ।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दीव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहीतवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन् ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहीतवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया