अबैध मार्गबाट अमेरिकासहितका देश जान कांग्रेसको कीर्ते कागजपत्र नबनाउन चेतावनी

रोल्पा । नेपाली कांग्रेस, रोल्पाले केही समूहले अमेरिका लगायतका विदेश जान पार्टीको नक्कली लेटेरप्याड, छाप र हस्ताक्षर कीर्ते गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार रोल्पा कांग्रेसका सभापति किशोरकुमार आचार्यले विज्ञप्ति जारी गरेर रोल्पा कांग्रेसको कागजपत्र कीर्ते गरेर दुरुपयोग गरिएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रोल्पा र अन्य तहहरू समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरि विभिन्न व्यक्तिहरूले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकि जीवनरक्षाका लागि विदेश अमेरिका लगायतका देशमा आउनु परेको भनि गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकोले सो सम्बन्धमा नेपाली कांग्रेस, रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘यस प्रकारका गलत, भ्रामक र कानून विपरितका कार्यहरूको बारेमा सम्बन्धित देशमा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरि सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कुटनीतिक पहल गरि आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

रोल्पा, रुकुम लगायतका जिल्लाहरूबाट अबैध रुपमा अमेरिका लगायतका युरोपका देशहरूमा धेरै मानिसहरू गएका छन् । उनीहरूले नेपाली कांग्रेसको कीर्ते कागजपत्र बनाइ अमेरिकासहितका देशमा जाने गरेका छन् ।

Published : Thursday, 2025 August 7, 2:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया