रविलाई बचाउन हिँडेका नाबालिगलाई यौन दुर्व्यवहारपछि फरार कांग्रेसका कोइराला पक्राउ

इटहरी । सुनसरी जिल्लामा आफ्नै घरमा काम गर्न राखिएकी नाबालिगलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले अर्थराज कोइरालालाई पक्राउ गरेको छ ।

यौन दुर्व्यवहार गरेर फरार भएका वराहक्षेत्रका कोइरालालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कोइराला पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् ।

कोइराला नेपाली कांग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका व्यक्ति हुन् । कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । कोइरालाले आफूलाई नेपाली कांग्रेस बताउने गरे पनि रास्वपासँग निकट रहेर काम गर्दै आएका थिए ।

घर आएका बेला गत वैशाखमा कोइरालाले आफ्नै घरमा बस्ने नाबालिगलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए ।

कोइरालालाई सुनसरी जिल्ला अदालतले गत असार ३२ गते कसूरदार ठहर गरेको थियो । बालबालिका सम्बन्धी कसूरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपियाँ जरिबाना हुने फैसला गरेको थियो ।

पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपियाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला मङ्गलवार विराटनगरबाट पक्राउ परेका छन् ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइरालाले लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले कोइरालालाई पक्राउ गरेको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले स्थानीय पत्रकारहरूलाई बताएका छन् ।

विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।

Published : Wednesday, 2025 August 6, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया