कांग्रेस नेता बानियाँद्वारा मुख्यमन्त्रीको शपथसँगै पदभार ग्रहण, ९ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथसँग पदभार ग्रहण गरेका छन् ।

मंगलबार हेटौँडामा बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासँग शपथ लिएका हुन् । बानियाँले लगत्तै मन्त्रिपरिषद पनि गठन गरेका छन् । बानियाँले ९ सदस्सीय मन्त्रिपरिषद गठन गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले सबैको सुझाव सल्लाहमा सरकार सञ्चालन गर्ने जनाएका छन् ।

बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिवी निवारण मन्त्रालय आफूसँगै राखेका छन् ।

मधुसूधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । शिवराज अधिकारीलाई पछि मन्त्रालय तोकिनेछ । करण थापा मगरले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेबाट मगर मन्त्रीमा दोहोरिएका हुन् । कृष्णकुमार तामाङले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय पाएका छन् । जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र भरतबहादुर के.सी.लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख देवकोटासमक्ष बानियाँ र नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2025 August 5, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया