पक्राउ पुर्जी जारी भएपछि पूर्वअसई साह फरार, घुमुवाहरूद्वारा संरक्षण
काठमाडौं । सर्वसाधरणदेखि दर्जनौ प्रहरीसँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपियाँ ठगी गर्दै हिंडेको अभियोग लागेका नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक(असई) श्यामसुन्दर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा देवप्रकाश चौरासियासहित दर्जनौं पीडितहरूले ठगीमा जाहेरी दिएपछि साहविरुद्ध पर्सा जिल्ला अदालतबाट साउन १५ गते पक्राउ पुर्जी जारी भएको उच्च स्रोतले जनाएको छ । साह पूर्वअसई रहेको र घुमुवाहरू तथा केही उच्च प्रहरीहरू अधिकारीहरूसँग सम्पर्कमा रहेका कारण हालसम्म पनि पक्राउ पर्न नसकेको आरोप पीडितहरूको छ ।
प्रहरीमै रहँदा उच्च प्रहरी अधिकारीहरूबाटै पैसा असुलेर ठगी धन्दा सञ्चालन गर्दै आएका साह पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन बनेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले साहको खोजी कार्य तिव्र बनाएपनि पक्राउ पुर्जी जारी भएको पाँच दिन वितिसक्दा समेत पूर्वअसई साह पक्राउ परेका छैनन् ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय, धनुषाका केही घुमुवा प्रहरी अधिकारीहरूले नै पूर्व असई साहलाई संरक्षण गरेका कारण पर्सा प्रहरीलाई पक्राउ गर्न कठिन बनेको प्रहरी स्रोतले जनाएको छ । मधेश प्रदेशका डीआईजी उमाशंकर चतुर्वेदीले अवैध रुपमा रकम असुलेर प्रहरीकै वर्दीको बद्नाम गर्दै हिडेका पूर्वअसई साहलाई पक्राउ गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन् ।
साहले नेटवर्किङ ब्यापारको रकम आफ्नो खातामा नहाली प्रहरीका आफन्तहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । पूर्वअसई साहले कुँवर र तामाङ थरकी महिलाको नाममा करोडौं रकम जम्मा गर्न लगाएको समेत खुलेको छ ।
नेपाल प्रहरीका डीआईजी, एआईजीका श्रीमतीहरू रहेको कम्पनी हो भनेर भ्रम छरेर करोडौं पैसा उठाएर पैसा फिर्ता नगरेको पीडित देवप्रकाशले नै सञ्चारमाध्यमहरूलाई बताएका थिए ।
राम्रो फाइदा हुने ब्यापार गर्नुपर्छ, डीआईजी एआईजीका श्रीमती छन् भनेर साहले आफूबाट साढे ७ लाख रुपियाँ लगेको देवप्रकाशको भनाई छ । ४ वर्ष वितिसक्दा समेत आफूबाट लगेको साढे ७ लाख रकम फिर्ता नगरी उल्टै धम्की दिन थालेपछि देवप्रकाश लगायतका व्यक्तिहरू प्रहरीको शरणमा पुगेका थिए ।

मधेश प्रदेशमा कार्यरत अजय पटेल, नरेन्द्र चौरासिया, सुरेश यादव, प्रमोद सिंह, राजेश यादवलगायत चार दर्जन बढी प्रहरीहरू पूर्वअसई साहबाट ठगिएका छन् ।
प्रहरी स्रोतका अनुसार पूर्वअसई साहले राजमंगल सिंहसँग झण्डै ६० लाख, सुरेश यादवसँग ३० लाख र निरन सिंहबाट ५ लाख रुपैयाँ लिएको खुलेको छ । पूर्वअसई साहकै धम्कीका कारण कतिपय पीडितहरूले उजुरी दिन सकिरहेका छैनन् ।
पूर्वअसई साहले अबैध नेटवर्किङको नाममा असुलेको रकमबाट बीरगञ्ज महानगरपालिका १४ नं. वडा राधेमाईमा करोडौंको बंगला बनाएका छन् । बिलासिताका महँगा गाडी खरिद गरी उनले प्रहरीका उच्च अधिकारीको नाम लिंदै सरुवा÷बढुवा गराउने ठेक्का समेत लिने गरेका छन् ।
धिरजप्रताप सिंह मधेश प्रदेशको डीआईजी हुँदा र आईजीपी भएपछि पनि पूर्वअसई साहले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र आपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो ।
मधेश प्रदेशको डीआईजीमा यज्ञविनोद पोखरेल छँदा साहले अवैध रुपमा तस्करीको लाइन दिएर रकम असुुलेको पत्ता लगाएका थिए । तत्कालीन आईजीपी बसन्त कुँवरको निर्देशनमा पोखरेलले ताप्लेजुङ सरुवा गरेपछि साहले प्रहरी सेवाबाटै राजीनामा दिएका थिए ।
यसैबीच, साहले प्रहरी संगठनबाट बाहिरिएपछि पनि धम्की दिंदै पीडित ब्यापारी र हुन्डी कारोबारीहरूसँग मधेश प्रदेशका डीआईजी उमाशंकर चतुर्वेदीकै नाम लिंदै रकम असुलेको समाचार आएपछि पूर्वअसई साहले सुरुमा ‘अनलाइन नेपाल डटकम’लाई धम्कीसहितको अडियो पठाएको सो अनलाइनका सम्पादकले जनाएका छन् । अनलाइन नेपालले पूर्वअसई साहबिरुद्धका हरेक समाचारको प्रमाण सुरक्षित रहेको दाबी गरेको छ ।
पक्राउ पुर्जी जारी भएको, ठगी, अबैध असुली धन्दा लगायतका विषयमा लागेको आरोपका विषयमा प्रतिक्रिया लिन पूर्वअसई साहलाई पटक पटक मोबाइलमा सम्पर्क गर्दा फोन उठाएनन् । पूर्वअसई साह सम्पर्कमा आउन चाहेनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया