पूर्वराज्यमन्त्री एवम् कांग्रेस सांसद कान्छारामको कन्स्ट्रक्शन कम्पनी कालोसूचीमा

वीरेन्द्रनगर । नेपाली कांग्रेसका सांसद एवं पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्शन’लाई कालोसूचीमा परेको छ ।

कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयले कान्छाराम कन्स्ट्रक्शनलाई कालोसूचीमा राखेको हो । वीरेन्द्रनगर योजना क्षेत्र शहरी सडक अन्तर्गतको सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेको, पटक–पटक सम्झौता म्याद थप हुँदाहुँदै समेत कार्य नगरेको भन्दै पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राखेको छ ।

२०७९ मंसिर २० मा सम्पन्न हुनुपर्ने सडकहरू सम्पन्न हुन नसकेपछि कालोसूचीमा राख्ने निर्णय लिइएको हो । तीनपृष्ठको पत्रमा निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली, २०६४ अनुसारको प्रक्रिया पूरा गर्दै कम्पनीलाई कालोसूचीमा सिफारिस गरिएको जनाएको छ ।

सम्झौता भएदेखि हालसम्म कामको प्रगति नदेखिएको, निर्माणस्थलमा पर्याप्त स्रोतसाधन नपठाएको, इन्जिनियरको सुपरीवेक्षणमा समेत कार्य नगरेको, दैनिक प्रगति प्रतिवेदन नदिएको र ठेक्का नियमावलीको धारा १११ क को उल्लंघन गरेको स्पष्ट देखिएको भन्दै निर्माण निर्देशनालयले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (एएइ)ले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

Published : Tuesday, 2025 August 5, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया