स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्ण : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छिन् ।
आइतबार महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले चिकित्सकहरु सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरु रहेको बताइन् ।
डा.राणाले भनिन्, ‘ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नै नर्सहरुको सेवा, समर्पण र विरामीहरुप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ ।’
उनले भनिन्, ‘बिरामीको उपचार, उनीहरुको मनोबलमा वृद्धि, आपतकालीन अवस्थामा सेवा र विरामीहरुलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृ–शिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको छ ।’
परराष्ट्रमन्त्री डा.राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशाधन उपलब्ध गराउनुपर्ने बताइन् ।
डा.राणाले भनिन्, “नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।”
उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्ने बताएकी छिन् ।
डा.राणाले नर्सिङजस्तो महत्वपूर्ण र संवेदनशील विषयका स्नातकहरुलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यवहारिक बनाउन एवं नरम व्यवहार तथा सेवा मार्फत बिरामीहरुको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव दिएकी छिन् ।
उनले भनिन्, “यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।”
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया