रास्वपाद्वारा कान्तिपुर दैनिकका पत्रकारलाई दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उदयपुरस्थित कान्तिपुर संवाददाता राकेस नेपालीलाई समाचार संकलनका क्रममा अवरोध पुर्‍याई दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

यही साउन १७ गते शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम त्रियुगा नगर अधिवेशनको समाचार संकलन गर्न पुगेका बेला उक्त पार्टीकी नेतृ सरिन तामाङले नेपालीले बोकेको क्यामेरा खोसेर फोटो खिच्न अवरोध गर्दै दुर्व्यवहार गरेको महासंघ उदयपुर शाखाले जनाएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नागरिकलाई सुसूचित गर्ने धर्म निर्वाहमा जुटेका पत्रकारलाई कार्यक्रममा बोलाएर रास्वपाले देखाएको यो हर्कतलाई महासंघले अत्यन्त आपत्तिजनक र प्रेसविरोधी कदमका रुपमा लिएको जनाएको छ । महासंघले यो घटनाको कडा शब्दमा भर्त्सना गरेकाे छ ।

पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस प्रकारका व्यवहार नदोहोर्‍याउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकाे छ ।

Published : Sunday, 2025 August 3, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया