मकवानपुर प्रहरीद्वारा ९ हजार क्याप्सुल लागुऔषध बरामद

हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लागुऔषध ट्रामाडोल ९००० क्याप्सुलसहित १ जनालाई पक्राउ गरेको छ ।

साउन १२ गते राति ८ बजे हेटौंडा उपमहानगरपालिका वडा नं. १३ आदामारस्थित सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा सोही ठाउँ बस्ने वर्ष ३० का प्रवीन लामालाई लागुऔषधसहित पक्राउ गरिएको विज्ञप्तिमार्फत मकवानपुर प्रहरीले जनाएको छ ।

लामाको साथबाट ३००० क्याप्सुल ट्रामाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् । लागूऔषधको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा हेटौँडा– १२ बस्ने एकजना व्यक्तिसँग खरिद गरि ल्याएको भनि प्रवीन लामाले प्रारम्भीक बयान दिएका छन् ।

लागुऔषध बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न जाने क्रममा बिक्री गर्न आएका व्यक्तिले प्रहरीलाई देख्नसाथ साथमा बोकी ल्याएको झोला फालेर फरार भएका छन् ।

झोलामा ६००० क्याप्सुल ट्रामाडोल फेला पारेको छ । बरामद लागुऔषधसहित प्रवीन लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट लागुऔषध मुद्धामा म्याद भएको छ ।

लागुऔषधले भरिएको झोला फालेर फरार रहेका व्यक्तिको खोजतलास भैरहेको छ ।

Published : Saturday, 2025 August 2, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया