एनआरएनए र सीएनआईबीच प्रवासी लगानी प्रवर्द्धनबारे उच्चस्तरीय छलफल
काठमाडौं । साउन १७ नेपालमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्ने र नेपालको विश्वव्यापी व्यापारिक उपस्थिति सुदृढ बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई)बीच छलफल भएको छ ।
एनआरएनए आइसीसी अध्यक्ष महेशकुमार श्रेष्ठ र सीएनआई उपाध्यक्ष निर्वाण चौधरीबीच भएको छलफलमा सीएनआई ग्लोबल बिजनेस एन्ड डायस्पोरा टिमका सदस्य चन्द्र टण्डन र मनोहर दाहाल पनि सहभागी थिए ।
दुवै संस्थाले नीति सुधार, संयुक्त लगानी प्रवर्द्धन, र प्रवासी नेपालीहरूसँग दीर्घकालीन सहकार्य गर्ने विषयमा आपसी रुचि र प्राथमिकता व्यक्त गरेका छन् ।
बैठकमा सीएनआईले डायस्पोरा तथा विश्वव्यापी व्यापार प्रवर्द्धनमा केन्द्रित कार्य सम्पादनका सर्तहरू (टीओआर) प्रस्तुत गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रणनीतिक पहलहरूबारे जानकारी गराएको थियो । कार्य योजनामा कूटनीतिक नियोग, आर्थिक परिषद् सदस्यहरू र अन्तर्राष्ट्रिय चेम्बरहरूसँग समन्वय गरी लगानी मैत्री वातावरण सिर्जना गर्ने खाका प्रस्तुत गरिएको छ ।
सीएनआई उपाध्यक्ष चौधरीले नीति संवाद, मुद्दा आधारित अनुसन्धान, र प्रमुख परियोजना पहिचानमा एनआरएनसँग सहकार्य गर्न प्रस्ताव राखेका छन् । उनले भने, ‘नेपालको बैङ्किङ र पुँजी बजार प्रणाली सुदृढ हुँदै गएको छ । अबको आवश्यकता भनेको ठोस परियोजना, स्पष्ट नीति, र दीर्घकालीन लगानीमैत्री वातावरण निर्माण गर्नु हो ।’
एनआरएनए अध्यक्ष महेश श्रेष्ठले रेमिट फन्ड स्थापना गर्ने योजना प्रस्तुत गर्दै प्रवासी नेपाली र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले मासिक रूपमा लगानीको रूपमा निश्चित रकम पठाउन सक्ने र यसबाट ठूला विकास परियोजनाहरूमा सहभागी हुने अवसर सिर्जना हुने बताए । उनले ठूला लगानी र साना समूहगत लगानीका लागि फरक नीतिगत संरचना आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।
अध्यक्ष श्रेष्ठले एनआरएनएले आगामी असोज २४–२५ गते (११–१२ अक्टोबर) काठमाडौंमा ’एनआरएन लगानी संवाद २०२५’ आयोजना गर्न लागेको जानकारी गराउँदै सीएनआईलाई कार्यक्रमको प्रमुख साझेदार बन्न आमन्त्रण गरेका छन् । सो अवसरमा एनआरएनए लगानी मार्गचित्र २०२५–२०३० सार्वजनिक गरिनेछ भने प्रदेशगत रूपमा कम्तीमा दुई प्रमुख परियोजना प्रस्तुत गरिनेछ ।
बैठकमा प्रवासी र स्वदेशी लगानीकर्ताहरू जोड्ने डिजिटल लगानी प्लेटफर्मको निर्माण, परियोजना विवरण, लगानी पिच, र व्यापारिक मिलानको लागि वेब–आधारित प्रणाली, नीति सुधार पहिचान गर्न पलिसी ह्याकथानको आयोजना तथा दीर्घकालीन सहकार्यको खाकाको प्रारूप लगायतका विषयमा छलफल गरिएको थियो ।
दुवै पक्षले आगामी कार्यहरूको अनुगमन र योजना बनाउनका लागि मासिक रूपमा बैठक राख्ने निर्णय पनि गरेका छन् ।
बैठकले दुवै संस्थाबीच गम्भीर सहकार्यको प्रारम्भीक आधार तय गरेको एनआरएनए अध्यक्ष श्रेष्ठले बताए । ‘यो केवल छलफलको सुरुवात हो । नेपालको समृद्ध नेपाल निर्माण अभियानमा सहभागी हुन् प्रवासी नेपालीहरू तयार छन् । अब हामीले उनीहरूको संलग्नतालाई सुनिश्चित गर्दै योजनालाई अवसरमा रूपान्तरण गर्नुपर्छ,’ उनले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया