सीमित स्रोत साधनका बाबजुद ब्यूरोको भूमिका प्रशंसनीय, लागुऔषध नियन्त्रणमा प्रगति : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षणका क्रममा लेखकले यस्ता चुनौतिको सामना गर्न एवम् लागुऔषधविरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताए ।

लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

गृहमन्त्री लेखकले लागुऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको बताएका छन् । उनले लागुऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रहरीले संचालन गरेको लागुऔषधविरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागुऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक दीपक थापाले राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानूनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागुऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताए ।

सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको थापाले बताए ।

आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत आईजीपी थापाले बताएका छन् ।

प्रहरी महानिरीक्षक थापाले लागुऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको बताए । उनले लागुऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताए ।

Published : Friday, 2025 August 1, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया