कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भएको हो, कसैको जित–हार भएको छैन : सभापति बानियाँ

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता एवम् सभापति ईन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिं लामालाई सहज रुपमा मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

बुधबार हेटौँडामा पत्रकारहरूसँग कुरा गर्दै बानियाँले संसदीय दलको नेता पद गुमाइसकेपछि बहादुरसिं लामाले मार्ग प्रशस्त गरिदिएकै राम्रो हुने बताए । अन्यथा विधि, प्रद्धति र लोकतान्त्रिक व्यवस्थाबाट लामालाई हटाइने उनले बताए ।

‘बहादुरसिं लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीबीचको गठबन्धन हुँदा उहाँ मुख्यमन्त्री भएको हो । उहाँको दलको नेताको हैसियत गुमोको अवस्था छ,’ संसदीय दलका नेता बानियाँले भने ।

‘त्यही दलको विधान बमोजिम उहाँ भएको हो,’ उनले भने, ‘नैतिकता राजनीतिमा इमान्दारिता लोकतान्त्रिक परम्परा परिपाटी जनताको कुरा र पार्टीका साथीहरूको कुरालाई उहाँले मान्नु भएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो ।’

‘यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन,’ बानियाँले भने, ‘त्यो प्रक्रियालाई उहाँले मार्ग प्रशस्त गरिदिनु भयो तुरुन्तै हुन्छ । नत्र भने लोकतन्त्रको अभ्यास छ ।’

सभापति बायनँले भने, ‘उहाँ (बहादुरसिं लामा)ले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले हामी सहज रुपले उहाँलाई विदाइ गर्छौ ।’

सभापति एवम् संसदीय दलका नेता बानियाँले भने, ‘संसदीय व्यवस्थामा दलको नेताले ठीक ठंगले कार्य नगर्दा पार्टी कमजोर हुन्छ की भनेर नेतृत्वको अदली बदली हुन्छ ।’

‘कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भएको हो । कसैको जित पनि छैन । कसैको हार पनि छैन । जिम्मेवारी लिएको हो । हिजो अर्को साथीको थियो, आज अर्को साथीको छ,’ बानियाँले भने ।

बागमती प्रदेशका मुख्यमन्त्री लामाले संसदीय दलको नेता पद गुमाइसकेपछि पदबाट राजीनामा दिनुको साटो मन्त्रीमण्डल विस्तार गर्नेदेखि पार्टीको नीति र विधान विपरितका कार्य गरिरहेका छन् ।

Published : Thursday, 2025 July 31, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया