देशमा केही भएको छैन भन्ने नकारात्मक भाष्य बढी प्रचार गर्न खोजियो : परराष्ट्रमन्त्री डा.राणा

पोखरा । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले व्यक्तिगत कुरालाई लिएर पार्टी संगठनभित्र असमझदारी बढाउन नहुने बताएकी छिन् ।

बिहीबार पोखरामा नेपाली कांग्रेस, कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा डा.राणाले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताइन् ।

उनले भनिन्, ‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो ।’

परराष्ट्रमन्त्री डा.राणाले कांग्रेसका सस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको बताइन् । उनीहरूको मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न जरुरी रहेको डा.राणाले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।’

उनले कांग्रेसको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन् बलियो र सुदृढ हुने बताएकी छिन् ।

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको डा.राणाले बताएकी छिन् । उनले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नुपर्ने बताएकी छिन् ।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन’ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको उनले बताइन् । परराष्ट्रमन्त्री डा.राणाले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु सबैको दायित्व भएको बताइन् ।

Published : Thursday, 2025 July 31, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया