जानकीटोल चोकमा अवाञ्छित गतिविधि गर्ने १६ जना युवाहरू पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले सीमा नाकामा अवाञ्छित क्रियाकलापमा संलग्न १६ जना युवाहरूलाई पक्राउ गरेको छ ।

पर्साका सीमा नाकाहरूमा सुरक्षा निकायहरूबाट कडा रूपमा चेकजाँच हुँदै आएको छ । मुख्य नाकाभन्दा भित्री सीमा नाकाहरूमा अवैध क्रियाकलापहरू बढेको जनगुनासो तथा सूचनाको आधारमा प्रहरीले मानिसहरू पक्राउ गरेको जनाएको छ । साउन १४ गते बुधबार ११ बजे जगरनाथपुर गाउँपालिका वडा नं.२ जानकीटोल चोकस्थितमा लागुऔषध सेवन गर्ने व्यक्तिहरू सिमानाकाको बाटो प्रवेश गरी विभिन्न किसिमका लागुऔषधजन्य प्रतिबन्धित ट्याब्लेट, इन्जेक्सन, कोरेक्स लगायत सेवन गरी नेपाल प्रवेश पश्चात हो–हल्ला, झै–झगडा तथा सवारी दुर्घटना, विभिन्न अपराधिक गतिविधिहरूमा संलग्न हुने क्रियाकलाप दिन प्रति दिन बढ्दै गरेको हुँदा विशेष अभियान नै सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जानकीटोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले मानिसहरूलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा राष्ट्र सेवक प्रहरी कर्मचारीसंग नै अभद्र व्यवहार गरेका थिए । अभद्र व्यवहार गर्ने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याइ सार्वजनिक शान्तिविरुद्ध अन्तर्गतको कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने वर्ष २५ का सुजित पटेल, सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१० बस्ने वर्ष २८ का दिनेशकुमार श्रेष्ठ, वीरगञ्ज– १७ बस्ने वर्ष ३० का राहुल यादव, वीरगञ्ज– २३ बस्ने वर्ष २७ का श्यामसुन्दर यादव रहेका छन् ।

वीरगञ्ज– २३ बस्ने वर्ष २४ ऐ.जे.दास, वीरगञ्ज– २१ बस्ने वर्ष २५ का फिरोज अन्सारी, वीरगञ्ज– २१ बस्ने वर्ष २३ का देवनारायण राम, धनुषाको छिरेश्वर नगरपालिका वडा नं.१ बस्ने वर्ष ३५ का जितेन्द्रकुमार यादव, वीरगञ्ज– १३ बस्ने वर्ष २६ का सुमित कुशवाहा पनि पक्राउ परेका छन् ।

पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष २७ का नितेश मुखिया, वीरगञ्ज– १४ बस्ने वर्ष २९ का दीनानाथ पटेल, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने वर्ष २८ का मनुप अछामी, वीरगञ्ज– २ बस्ने वर्ष २६ का टलकबहादुर के.सी., वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने वर्ष २५ का दीपेन्द्र पासवान, पर्साको ठोरी गाउँपालिका वडा नं.४ बस्ने वर्ष २७ रोहन बुढाथोकी, पर्साको धोबिनी गाउँपालिका वडा नं.३ बस्ने वर्ष २९ का रिजवान हवारीलाई पनि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2025 July 31, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया