सानो कुरामा चित्त नबुझे नेताहरूको विरोध गर्ने र पार्टी छाड्ने कुरा ठीक होइन : परराष्ट्रमन्त्री डा.राणा

पोखरा । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले स–साना कुरामा चित्त नबुझ्दा नेताहरूलाई गाली गरेर पार्टी छाड्ने प्रवृत्तिको आलोचना गरेकी छिन् ।

बुधबार पोखरामा ‘नेपालको परराष्ट्र नीति, जलवायुपरिवर्तन एवम तरुण युवाहरूको सरोकार’ विषयक सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘सानो कुरामा चित्त नबुझेपछि पार्टीको साथीहरूको विरोध गरिदिने । सानो कुरामा चित्त नबुझेपछि पार्टी छोडेर गइदिने । अहिले त झन् अब नाङ्लो पसलमा पार्टीहरू खुलिरहेका छन् ।’

‘यो पार्टीले नदिए के हुन्छ त भनेर यो पार्टीले हुर्कायो बढायो । तालिम गर्‍यो । पद दियो । एउटा पद नपाउनेवित्तिकै अर्को पार्टीमा फट्याङ्ग्रा उफ्रिए जस्तो गरेर टाँस्सिन जाने,’ डा.राणाले भनिन् ।

‘यसले हाम्रोबारेमा के भनेको हुन्छ । पार्टी त उहि नै हुन् । नेपाली कांग्रेस पार्टी बलिदान गरेको पार्टी । देशको लागि मार्गदर्शन कोरेको पार्टी,’ उनले भनिन्, ‘त्यो पार्टीलाई छाडेर जाने साथीहरूलाई कुनै पनि पदमा हराउँदा के फाइदा हुन्छ त ? त्यो ज्ञान राजनीति गर्नेहरूले सोँच्नुपर्छ ।’

‘फेसबुकमा पनि झ्वाट्ट लेखिदिने । अरुले गाली गरेको टिकटकमा पनि लाइक गरिदिने । नेताहरूलाई अरुले गाली गरेको । हामीले ईतिहाँसलाई भुल्नु हुँदैन । ईतिहाँस भुल्नेले केही गर्न सक्दैन,’ उनले भनिन् ।

डा.राणाले उनले भनिन्, ‘दलमा, संगठनमा झगडा हुन्छ । त्यसलाई त्यहीभित्र मिलाउनुपर्छ, साना विषयमा चित्त दुखाएर पार्टी छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ ।’

उनले भनिन्, ‘परिवारभित्र पनि झगडा हुन्छ, कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।’

कांग्रेससामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै डा.राणाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नुपर्ने बताइन् । उनले साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी छाडेर हिँड्ने प्रवृत्ति गलत भएको बताएकी छिन् । पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले नयाँ पुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने बताइन् ।

‘त्याग, बलिदान र संघर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ,’ परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नुपर्छ, सुशासनमा ध्यान दिनुपर्छ ।’

निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उनले बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढंगले उठाउँदै आएको बताएकी छिन् । उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने बताएकी छिन् ।

हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा पनि नेपालका पक्षबाट आफूले आवाज उठाएको परराष्ट्रमन्त्री डा.राणाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरेको बताएकी छिन् । ‘हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौँ,’ उनले भनिन्, ‘नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्छ ।’

डा.राणाले जलवायु परिवर्तनले ठूलो चुनौती निम्त्याएको भन्दै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् ।

पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षारोपण गर्नुपर्ने, प्लास्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी र नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताइन् । डा.राणाले नेपाल भूराजनीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताएकी छिन् ।

डा.राणाले स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको बताएकी छिन् । उनले भनिन्, ‘नेपालको आफ्नै परराष्ट्र नीति छ, विश्व समुदायमा आफ्नै पहिचान छ, यसलाई विगतदेखि नै हामीले कायम गर्दै आएका छौँ, यो हामी सबैको गौरवको विषय हो ।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हाम्रो कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका कारण विदेशी मुलुकहरूले नेपाललाई उच्च सम्मान दिने गरेका छन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीतजंग बस्नेत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता कार्यकर्तासहित तरुणहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । परराष्ट्रमन्त्री डा.राणालाई तरुणहरूले विमानस्थलमा भव्य रुपमा स्वागत गरेका थिए ।

Published : Wednesday, 2025 July 30, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया