नेपाल-भारतबीच सीमा सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउनुपर्ने सहमति

काठमाडौं । नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने नेपाल–भारत सीमा कार्यसमूह (बीडब्ल्यूजी)को ७औँ बैठक बसेको छ ।

नयाँ दिल्लीमा सम्पन्न बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौं बैठकका निर्णयहरूको कार्यान्वयन तथा सोही वर्ष सेप्टेम्बरमा सम्पन्न एघारौं सर्वे अधिकृत समितिको बैठकको कार्य प्रगतिमा समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गर्दै सीमा सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउनुपर्नेमा पनि सहमति भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका छन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेयर जनरल हितेशकुमार एस. मकवानाले गरेका थिए ।

सन् २०१४ मा गठन गरिएको कार्यसमूहको कार्यक्षेत्रमा सीमा स्तम्भहरूको निर्माण, पुनर्निर्माण, मर्मत तथा अन्य प्राविधिक कार्यहरू पर्दछन् ।

Published : Tuesday, 2025 July 29, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया