विदेश मान्छे पठाउने बहानामा ठगी गर्ने ठगहरू पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–८ बस्ने नुवाकोटको म्यागङ गाउँपालिका–२ घर भएका ४२ वर्षीय हेमबहादुर तामाङ, काठमाडौंको टोखा नगरपालिका–१० बस्ने स्याङ्जाको फेदीखोला गाउँपालिका–२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घर भएका ६१ वर्षीया मैयादेवी उप्रेती रहेका छन् ।
पक्राउमध्ये हेमबहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रूपियाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपियाँ र मैयादेवीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले हेमबहादुरलाई टोखा नगरपालिका–८ बाट शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईश्वरीलाई टोखा नगरपालिका–१० बाट शनिबार र मैयादेवीलाई चन्द्रागिरी नगरपालिका–५ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउमध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैयादेवीलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया