लोथर पुलमा झण्डै ७ सय किलो गाँजासहितको कन्टेनर नियन्त्रण

भरतपुर । चितवनको राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाँजासहित भारतीय नागरिक ३७ वर्षीय शेख सविल अख्तरलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको भारती कन्टेनर ट्रकलाई राप्ती नगरपालिका वडा नं. १ स्थित लोथर पुल नजिकैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतको बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका अख्तरलाई जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरीले युपी ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो ।

ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अख्तरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाँजालाई ४३ वटा पोका बनाइ राखिएको थियो । चालकको साथमा रहेको एक थान मोबाइललाई पनि नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Published : Saturday, 2025 July 26, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया