सफल कुटनीतिक पहलपछि इरानको जेलबाट मुक्त भएका ५ नेपाली काठमाडौं आइपुगे

काठमाडौं । इरानको जेलमा थुनामा रहेका ५ जना नेपाली नागरिकहरू काठमाडौं अवतरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तेहरानस्थित नेपाली अवैतानिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा बिहीबार २४ जुलाईका दिन ५ जना नेपाली नागरिक काठमाडौं अवतरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘इरानको जेलमा थुनामा रहेका ५ जना नेपाली नागरिकहरूलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतानिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा २४ जुलाई २०२५ का दिन काठमाडौं अवतरण गर्नुभएको छ,’ शुक्रबार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्न गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरू, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै अप्रेशन सिन्धु अन्तर्गत भारतीय नागरिकहरूलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै सबै जना स्थलमार्गबाट सकुशल आ–आफ्नो घर फिर्ता भइसकेका छन् ।

Published : Friday, 2025 July 25, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया