सभामुख घिमिरेद्वारा कानूनमन्त्री, रास्वपा र राप्रपासँग छलफल
काठमाडौं । भिजिट भिसा प्रकरणका विषयमा सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित संसद सचिवालयमा घिमिरेले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन् ।
घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ ।’
‘सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु,’ घिमिरेले भने, ‘मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ ।’
‘सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ,’ घिमिरेले भने, ‘हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न जरुरी छ ।’
‘संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईंहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन,’ उनले भने, ‘संसदीय गतिविधि प्रभावित भएको छ ।’
कानून, न्याय तथा संसदीय मामिलामन्त्री चौरसिया सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको बताए । उनले भने, ‘त्यो पनि प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन ।’
‘रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ,’ चौरसियाले भने, ‘एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’
रास्वपा कार्यवाहक सभापति अर्यालले भने, ‘सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो ।’
‘हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ,’ अर्यालले भने ।
राप्रपा उपाध्यक्ष तामाङले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौं । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् ।’
‘सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ तामाङले भने, ‘शंकरदास बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी दिएको छैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया