वीपीमा सबैलाई समेट्न सक्ने क्षमता थियो, अहिले एकता र मेलमिलापको अभाव छ : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीले वीपी कोइरालाको बाटोलाई छाडेको बताएका छन् ।

मंगलबार वीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलयमा डा.कोइरालाले भने, ‘वीपीकै पदचापमा कसरी हिँड्ने भन्ने चिन्ता छ ।’ वीपी कोइरालाले मुलुकको अफ्ठेरो अवस्थामा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढेको बताए ।

अहिले पार्टीमा एकता र मेलमिलापको अभाव रहेको बताउँदै डा.कोइरालाले भने, ‘उहाँमा सबैलाई समेट्न सक्ने क्षमता थियो ।’

वीपीले छोटो समयमा मुलुकको आर्थिक विकास र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको स्मरण गरेका छन् । उनले भने, ‘पूर्व पश्चिम राजमार्ग उहाँकै परिकल्पना थियो, राजा महेन्द्रले निर्माण गरे पनि ।’

आठ वर्षसम्म वीपी कोइराला सुन्दरीजल जेलमा बस्दाको पारिवारिक कठिनाइ र त्यसपछिका समस्याको डा.कोइरालाले स्मरण गरेका छन् ।

सुन्दरीजल जेलमा वीपी कोइराला रहेका बेला परिवारमा परेको समस्याका बारेमा स्मरण गर्दा अहिले पनि आँखाबाट आँसु आउने डा.कोइरालाले बताए ।

त्यस्तो कठिन अवस्थालाई आमा सुशीला कोइरालाले सम्हालेको र वीपी कोइरालाका साथीहरू तथा शुभेच्छुकहरूको सहयोग पाएको बताएका छन् ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र जननिर्वाचित सरकार अपदस्थ गरेपछि वीपी कोइरालासहितका नेतालाई सोही स्थानमा कारावासमा राखेका थिए । वीपी कोइरालाको २०३९ साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

कार्यक्रममा उर्जा, सिचाइँ तथा जलस्रोतमन्त्री दीपक खड्का, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, कांग्रेसका नेताहरू दिलेन्द्र बडू, उर्मिला थपलिया, किरणकिशोर घिमिरे, दीपक भट्टराइ लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2025 July 22, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया