नेपालका विद्यालय र अस्पतालहरूको भवन बनाउन भारतद्वारा ३९ करोड अनुदान प्रदान

काठमाडौं । भारत सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा उच्च प्रभाव पार्ने पाँच वटा सामुदायिक विकास परियोजनामा अनुदान सहयोग गर्ने भएको छ ।

सोमबार काठमाडौंमा नेपालका लागि भारतीय राजदूतावास, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कुल अनुमानित लागत ३९ करोड रुपियाँ रहेका परियोजनाले नेपालका विभिन्न जिल्लामा विद्यालय र अस्पताल निर्माणमा योगदान पु¥याउने छन् ।

परियोजनाहरू धनुषाको बटेश्वर गाउँपालिका–३ मा श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरिया नगरपालिकामा श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालयसहित छात्रावास र पुस्तकालय भवन, र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माण गरिनेछ ।

भारतीय राजदूतावासका अनुसार, यी संरचनाको निर्माणले नेपालमा शिक्षा र स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सन् २००३ यता भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, सरसफाइ र सार्वजनिक उपयोगका पूर्वाधार निर्माणमा ५७९ वटा परियोजना अघि बढाएको छ, जसमध्ये ४९६ पूरा भइसकेका छन् ।

‘भारत र नेपालबीचको सम्बन्ध ऐतिहासिक, नजिकको छिमेकी र बहुक्षेत्रीय सहयोगमा आधारित छ,’ भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यी परियोजनाले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार र जनसशक्तिकरणका प्रयासमा भारतले निरन्तर साथ दिने प्रतिबद्धता झल्काउँछन् ।’

समझदारी नेपाल–भारत सम्बन्धमा विकास, साझेदारी र जनस्तरको सहयोग सुदृढ पार्ने थप एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Published : Tuesday, 2025 July 22, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया