दुई छोरी रहेकी शर्मिलाको हत्या, अभियुक्त सन्तोष पक्राउ
बनेपा । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले ३७ वर्षीय सन्तोष सुनारलाई हत्याको अभियोगमा पक्राउ गरेको छ ।
सोमबार बनेपामा पत्रकार सम्मेलन गरेर प्रहरीले सुनारलाई सार्वजनिक गरेको हो । विवाह गर्न नमानेको झोँकमा सुनारले प्रेमिकाको हत्या गरेको आरोप लागेको छ । पक्राउ परेका सुनार रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ निवासी हुन् ।
सुनारले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–१, डाँडाखर्क घर भई हाल बनेपा नगरपालिका–९, नयाँबस्ती बस्ने ३३ वर्षकी शर्मिला उप्रेतीलाई विवाह गर्न प्रस्ताव गरेका थिए । उप्रेतीले विवाह गर्न नमानेपछि रिसको झोँकमा सुनारले योजनाबद्ध रूपमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
घलेले भने, ‘दुई वर्षदेखि सन्तोष र शर्मिलाको प्रेम सम्बन्ध रहेको देखिन्छ, सन्तोषले पटकपटक विवाह गर्न प्रस्ताव गरेको र शर्मिलाले टार्दै लगेपछि सन्तोषलाई शङ्का लागेपछि हत्या गरेको स्वीकार गरेका छन् ।’
असार ३२ गते घरबाट काम गर्नका लागि निस्केकी शर्मिलालाई घुम्न जाने भन्दै बनेपा नगरपालिका–१३, भगवान् थुम्की सामुदायिक वनमा लगि दाउराले हानेर बेहोस पारी सलले घाँटीमा कसेर हत्या गरिएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।
शर्मिलाको हत्या गरेका सन्तोष घटनास्थलमा आधा घण्टा बसेर शर्मिलाको शवलाई चिलाउनेको फेदमा कोल्टो पारी भागेका थिए । फरार रहेका सन्तोषलाई इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले आइतबार साँझ बनेपा नगरपालिका–१०, इँटाभट्टाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मृतक शर्मिलाको १६ वर्षीया र नौ वर्षीया छोरी छन् । मृतक शर्मिला पछिल्लो समय एक्लै बस्दै आएकी थिइन् । सन्तोष र शर्मिला दुई वर्षदेखि प्रेम सम्बन्धमा रहनुको साथै सँगै ज्यामी काम गर्दै आएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया