नेपाल र भारतका गृह सचिवस्तरीय बैठक ९ वर्षपछि बस्दै, दिल्लीमा नेपाली टोली

काठमाडौं । गृह सचिव गोकर्णमणि दुवाडीले नेतृत्व गरेको टोली सोमबार अपराह्न नयाँदिल्ली पुगेको छ ।

मंगलबार नेपाल र भारतका गृह सचिवस्तरीय बैठक हुँदैछ । उक्त बैठक ९ वर्षपछि हुन लागेको छ । दुवै देशका गृहका उच्च अधिकारी तहमा हुने बैठक मुख्य रूपमा सुरक्षाका सवाल, अपराध नियन्त्रण, सीमा वारपार हुने अवैध क्रियकलापलगायतका विषयमा केन्द्रित हुनेछ । टोलीमा सहभागी गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा क्षेत्रमा भइरहेको लागुऔषधको कारोवार तथा मानव तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध आवागमन, अवैध तस्करीलगायतका विषयमा बैठकमा छलफल हुने बताए ।

खुला सीमाका कारण सीमा क्षेत्रमा भारतबाट लागुऔषधको कारोबार बढेको तथा भारत हुँदै नेपाली युवायुवतीको भारतमा तथा तेस्रो मुलुकमा अवैध तरिका पठाइने गरिएकोमा त्यसलाई नियन्त्रणको मुद्दा नेपाली पक्षले बैठकमा राख्ने तयारी गरेको छ ।

तस्करहरूले नेपाली युवाबाट ठूलो रकम असुलेर भारत हुँदै अवैध तरीकाले तेस्रो मुलुक पठाउने गरेको पाइन्छ । भारतीय गृह मन्त्रालयका उच्च अधिकारी नेतृत्वको टोलीसँग नेपालले भोग्दै आएको यस्ता विभिन्न समस्याहरूबारे चर्चा गरिने प्रवक्ता तिवारीले बताए । तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशमा रोकलगायतका विषय पनि बैठकका प्रमुख मुद्दा छ । भारतले यस विषयलाई प्रायः हरेक जसो बैठकमा उठाउँदै आएको छ ।

दिल्लीको ताजमानसिंह होटेलमा मंगलबार १० बजेदेखि बैठक बस्ने तयारी छ । सचिव दुवाडीले नेतृत्व गरेको नेपाली टोलीमा काठमाडौंबाट १२ जना गएका छन् । दिल्लीस्थित नेपाली दूतावसका अधिकारीहरू त्यसमा थपिने छन् । नेपाली टोलीमा गृहका सहसचिव रामचन्द्र तिवारी, नापी विभागका महानिर्देशक प्रकाश जोशी, अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, कानून मन्त्रालयका सहसचिव विनोद भट्टाराई, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख गहेन्द्रराज भण्डारी छन् ।

त्यस्तै, नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडा मगर र राष्ट्रिय अनुसन्धान विभागका एआईजी टेकेन्द्र कार्की पनि टोलीमा छन् ।

Published : Monday, 2025 July 21, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया