श्रमशोषण गर्दै आएको नागरिक दैनिक बन्द हुने अवस्थामा पुग्यो, शोभा ज्ञावालीहरूको कर्तुत बाहिरियो

काठमाडौं । सर्वसाधारणलाई सेयर बेचेर पहिलो पब्लिक कम्पनी बनेको नेपाल रिपब्लिक मिडिया लिमिटेडमा भाँडभैलो मच्चिएको छ ।

व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने माग उठाएपछि त्यसको नेतृत्व गर्नेहरूप्रति क्रमशः प्रतिशोध साँध्न थालेका छन् । बिहीबारको पत्रिकासमेत ननिस्किएको रातोमसी डटकमले समाचारमा उल्लेख गरेको छ । बिहान ८ बजे मात्र डिजाइनर बोलाएर डिजाइन गरी देखावटीका लागि केही प्रति पत्रिका निकालिएको छ । पत्रिका नै बन्द हुने अवस्थामा पुग्नुको मुख्य कारण कम्पनीको व्यवस्थापन र सम्पादकले श्रमजीवी पत्रकारमाथि लगातार गरेका दुर्व्यवहार भएको त्यहाँ कार्यरत कर्मचारीको भनाइ छ । कम्पनीमा कार्यरत कर्मचारीलाई श्रमजीवी पत्रकार ऐनअन्तर्गतका कुनै सुविधा दिइएको छैन ।

अदालतले गरेको निर्णयसमेत सम्पादकको दबाबमा व्यवस्थापनले लत्याइरहेको छ । यिनै माग सम्बोधन गराउन व्यवस्थापनको ध्यानाकर्षण गराउन पुगेका पत्रकारलाई एमडी समृद्धि ज्ञवाली र सम्पादक गुणराज लुइँटेलले हप्काइदप्काइ दुर्व्यवहार गरेको आरोप छ । गत असार ३ गते उनीहरूले यसरी माग लिएर जाने पत्रकारलाई छाड्ने कि बस्ने तत्काल कित्ता प्रष्ट पार्न, राजनीति नगर्न र अरूलाई नभाँड्न भन्दै धम्क्याएका थिए । नेपाल रिपब्लिक मिडिया लिमिटेडका निर्देशक शोभा ज्ञवालीले बेलाबेला विभिन्न फण्डा गर्दै आएकी छिन् । नागरिक दैनिकमा शोभाले आफू अनुकूलका समाचार लेखाएर हाइलेबलका व्यक्तिका साथै व्यापारीहरूको चरित्रहत्या गराउँदै आएका बेला पत्रकारर मजदुरहरूले फण्डाफोर गरिदिएका छन् ।

नेपाल पत्रकार महासंघ, श्रमजीवी–पत्रकार संघ, नेपाल, नेपाल प्रेस युनियन, प्रेस चौतारी जस्ता पत्रकारका संगठन तथा पत्रकारसँग सम्बन्धित ट्रेड युनियन संगठनहरूको दबाब र सहयोगमा समाधान खोज्ने र कम्पनीले पेलेरै जाने नीति लिएमा पत्रकारका संगठनहरू र पत्रकारसँग सम्बन्धित ट्रेड युनियन संगठन श्रमजीवी–पत्रकार संघले कम्पनीमा आन्दोलन पनि गर्ने र सँगै अदालत पनि जाने निष्कर्षमा पीडित पत्रकार जुटेका छन् ।

पत्रकार महासंघको अस्तित्व स्वीकार नगर्ने र त्यो नाम सुन्नै नचाहने भन्दै माग सुन्नसमेत इन्कार गरेका थिए । उल्टै भाषा शर्मा, पवित्रा सुनार, नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका दिलिप पौडेल, प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका पत्रकार बालकृष्ण अधिकारीलगायत्लाई व्यक्तिगतरूपमा विभिन्न आरोप लगाउँदै अपमान गरेका थिए ।

त्यही दिनदेखि यसरी माग उठाउने केही अगुवाहरूलाई ८ घण्टा किन काम नगरेको, एमडीलाई किन दुर्व्यवहार गरेको जस्ता विषयको बहानामा दिनकै २/३ पटकसम्म स्पष्टीकरण सोधेर हैरान पारिँदै आएको छ ।

पत्रकार महासंघका शाखा सभापति रघुनाथ लामिछानेलाई त प्रतिशोधस्वरूप नेपालगञ्ज सरुवा गरिएको छ । हेमराज भट्टराई, ईश्वरी सुवेदी, स्मृति ढुंगानालगायत पत्रकारलाई पटक–पटक स्पष्टीकरणको नाममा मानसिक यातना दिने काम भइरहेको छ ।

कतिपयलाई कामै नदिने, पठाएको समाचार पनि नछाप्ने, फलानो फलानोसँग चिया पिउन नजानु र नबोल्नुसमेत भनेर सम्पादकले आफू नजिक (जसले अरू पत्रकारको जासुसी गर्ने जिम्मेवारी पाएका छन् र त्यहीबापत तलबसमेत नियमित पाउँछन्)का पत्रकारलाई निर्देशन दिने गरेका छन् । डिजाइनरहरूमाथि पनि उत्तिकै प्रतिशोध साँधिएको छ ।

यो कम्पनीमा कोरोनाको बेलादेखि सम्पादकको चाकडी गर्ने केहीबाहेक कसैले पनि पूरा तलब पाएको छैन, जबकि त्यतिबेलै कर्मचारीलाई दिन र अन्य व्यवस्थापन मिलाउन भनेर सरकारले सस्तो ब्याजदरमा दिएको पैसा २० करोड पनि भित्र्याइएको थियो । त्यो कहाँ गयो भन्ने पत्रकारलाई पत्तो छैन ।

अहिले नागरिकका कर्मचारीलाई यसरी प्रताडित गर्ने र श्रम शोषण गर्नेमा प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली र सम्पादक गुणराज लुइँटेल मुख्यरूपमा देखिएका छन् । एक पत्रकारले बताएअनुसार सम्पादक व्यवस्थापन भन्दा पनि चर्कोरूपमा पत्रकारलाई दुर्व्यवहार गर्नेमा अग्रपंक्तिमा देखिएका छन् ।

यतिसम्म कि नेपाल पत्रकार महासंघको सभापति निर्मला शर्मा आफूले जे भन्यो त्यही मान्ने भएकाले कुनै चिन्ता गर्नुपर्दैन भनेर साहु परिवारलाई आश्वस्त पार्नसमेत सफल भएका छन् । डिजाइनरहरूलाई ८ घण्टा काम गर्न बाध्य पारेपछि उनीहरूले गत बुधबार व्यवस्थापनले नै भनेको समय अर्थात दिउँसो २ बजे आएर १० बजेसम्म काम गरेका थिए । १० बजेसम्म ५ वटा पेज मात्र फाइनल भएर आएकाले त्यति पेज बनाएर उनीहरू व्यवस्थापनले भनेअनुसार घर फर्किएका थिए ।

यसरी ८ पेजमा ३ वटा पेज नबनेपछि बिहीबार पत्रिका निस्कन सकेन । डिजाइनरलाई बोलाइएको समयभित्र आएर काम गर्दा पेज दिन नसक्नु सम्पादकको कमजोरी हो तर, उल्टै शुक्रबार डिजाइनरले काम नगरेको भन्दै उनीहरूका कम्प्युटर लक गरिएको थियो ।

नेपाल रिपब्लिक मिडिया पब्लिक कम्पनी भएको ३ वर्ष पुग्न लागेको छ । यतिबेलासम्म मालिकहरूले आफ्नो सेयर बिक्री गर्न पाउँदैनन् । त्यसैले ३ वर्ष पुग्दासाथ आफ्नो तर्फको सेयर बिक्री गरेर पत्रिका बन्द गरी यो कम्पनीबाट अलग हुने र ठूलो संख्याका साना सेयर होल्डरलाई डुबाउने प्रपञ्चअन्तर्गत यी सबै काम भइरहेका त्यहाँ कार्यरत कर्मचारी÷पत्रकारको बुझाइ छ ।

यही डिजाइनअनुसार कसैलाई पनि केही नदिइ निक्लन बाध्य पार्ने र त्यतिन्जेल व्यवस्थापन र सम्पादकका केही चाटुकार मिलेर मोज गर्ने योजनामा सम्पादकको सल्लाहअनुसार व्यवस्थापनले यी सबै कर्तुत गरिरहेको उनीहरूको दाबी छ । यतिबेला नेपाल पत्रकार महासंघ, श्रमजीवी–पत्रकार संघ, नेपाल, नेपाल प्रेस युनियन, प्रेस चौतारी जस्ता पत्रकारका संगठन तथा पत्रकारसँग सम्बन्धित ट्रेड युनियन संगठनहरूको दबाब र सहयोगमा समाधान खोज्ने र कम्पनीले पेलेरै जाने नीति लिएमा पत्रकारका संगठनहरू र पत्रकारसँग सम्बन्धित ट्रेड युनियन संगठन श्रमजीवी–पत्रकार संघले कम्पनीमा आन्दोलन पनि गर्ने र सँगै अदालत पनि जाने निष्कर्षमा पीडित पत्रकार जुटेका छन् ।

Published : Sunday, 2025 July 20, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया