अदालतको आदेशमा एनआरएनएको अधिवेशन भइसक्यो, समाज भाँड्न चलखेल नगरौँ : अध्यक्ष श्रेष्ठ
काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन भइसकेको भन्दै अक्टोबरमा महाधिवेशन नहुने बताएका छन् ।
शनिबार अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले आइसीसीको निर्वाचन गराइसकेको बताए । उनले अहिले अक्टोबरको मितिको कुनै तुक नभएको बताएका छन् ।
‘हामी कुनै पनि हालतमा अक्टोबरमा अधिवेशन हुन दिँदैनौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी त्यसका लागि सबै प्रक्रिया अपनाउँछौँ ।’
अदालतको आदेश अनुसार मे महिनामा अधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित भइसकेकाले अक्टोबरमा अधिवेशन हुन नसक्ने बताएका हुन् ।
बद्री केसी समूहले एनसीसीहरू फुटाउने खेल गरेकाले अहिले धेरै कुरा बिग्रिएको अध्यक्ष श्रेष्ठले बताएका छन् । आफू एनसीसीहरूको एकताको पक्षमा रहेको बताउँदै श्रेष्ठले सबैलाई मिलाएर लैजानका लागि एकताको महाधिवेशन भएको तीन महिनासम्म कुरेको बताएका छन् ।
मे ३–४, २०२५ मा आयोजित महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले आधिकारिता दिएर सचिवालय जान भनिसकेको छ । संयमता अपनाएर आफूहरू अझै सचिवालय नगएको एनआरएनएका अध्यक्ष श्रेष्ठले बताएका छन् ।
अध्यक्ष श्रेष्ठले अदालतको अन्तिम फैसला नआएसम्म एनसीसीलाई नचलाऊँ भनेर भनेको तर, बद्री केसी समूहले विधान विपरीत निर्वाचित समितिहरूलाई भङ्ग गर्दै कथित अधिवेशन आयोजक समितिहरू गठन गरेर समाज फुटाउने काम गरिरहेको बताए ।
श्रेष्ठले बद्री केसी समूहले गठन गरेका एनसीसीहरू खारेज हुने र नयाँ किसिमले जानु पर्ने पनि बताए । अहिले अदालतमा विचाराधीन मुद्दाको फैसला आफूले स्वीकार गर्ने श्रेष्ठले बताएका छन् । ‘अहिले सर्वोच्चको पूर्ण इजलासमा पुगेकाले त्यहाँबाट आउने निर्णय हामी मान्छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।
‘अहिले राजनीतिक पार्टीहरूको कारणभन्दा पनि दम्भ र अहंकारका कारण एनआरएनको अहिलेको अवस्था आएको हो । राजनीतिक दलहरूका नेताहरूसँगको भेटमा हामीलाई नै तपाईंहरू मिलेर आउनुहोस् भन्नु हुन्छ । यसलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’
अध्यक्ष श्रेष्ठले संघको कोष खर्च गर्न पाउने वैधानिक तथा नैतिक अधिकार बद्री केसी समूहलाई नभएको बताए ।
बद्री केसी समूहका एनआरएनए उपाध्यक्ष हेमराज शर्माले एमआइएसमा सदस्य बनेकालाई मात्रै सदस्य मानिने बताए । उनले एकताको महाधिवेशन पर नसरिएकाले अहिलेको समस्या आएको बताए । के कति कारणले बद्री केसी समूहले विधान विपरीत निर्वाचित समितिहरूलाई भङ्ग गरेको हो भन्नेबारे शर्माले केही बताएनन् ।
‘एजेन्डाको विषयमा महेशजी र मबीच कुनै फरक छैन । अदालतको फैसला पछि मिलेर जानु पर्छ’, शर्माले भने । शर्माले संघको केन्द्रीय कार्यालयमा एमालेनिकट कार्यकर्ता ल्याएर एनआरएनहरूमाथि नै कुटपिट गर्न लगाउने घटनाप्रति खेद व्यक्त गर्दै अब भविष्यमा त्यस्ता घटना नदोहोरिने जनाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया