अमरेशद्वारा डा.शेखरलाई प्रधानमन्त्री बनाउन प्रचण्ड र विद्यादेवीसँग भेट गराएको स्वीकार

काठामडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई प्रधानमन्त्री बनाउन आफू पहल गरिरहेको बताएका छन् ।

युट्युब च्यानलसँगको अन्तर्वार्तामा सिंहले कांग्रेस नेता डा.शेखर कोइरालालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेतृ एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गराएको बताए । उनले डा.शेखर कोइरालाले कांग्रेस फुटाउन सक्ने समेत घोषणा गरेका छन् ।

‘हामीले हिजोदेखि खुल्लमखुल्ला होस् भन्ने नै चाहेको हो । त्यसैले हिजो शेखरजी र प्रचण्डजीको मिटिङ सार्वजनिक गर्‍यौं,’ सिंहले भने ।

‘पूर्व राष्ट्रपतिसँग आज शेखरजीले गर्नुभएको छलफल पनि सार्वजनिक गरेका छौं । अब चाहे उपेन्द्र यादवसँग मिटिङ होस् या माधव नेपालसँग होस्, चाहे स्वर्णिम वाग्ले या डीपी अर्यालसँग मिटिङ होस् यो सबै पब्लिक नै हुन्छ,’ स्वतन्त्र सांसद सिंहले भने ।

स्वतन्त्र सांसद सिंहले भने, ‘हो त, भएको थियो त । प्रचण्डजीकोमा हामीले ब्रेकफास्ट खाएर बैठक गरेका थियौं ।’

‘कसरी त्यसमा हामी मिलेर जाने भन्ने नै कुरा भयो । हामी राजनीति गर्ने मानिस हौं, राजनीतिक व्यक्तिसँग मिटिङ गर्छौं । हामीले कुनै अपराध त गरेको छैन । जब शेरबहादुर र ओलीजीले संयन्त्रको बैठक गर्न मिल्ने, त्यसलाई मिडियामा तपाईंले न्युज बनाउन मिल्ने अनि हामीले मिटिङ गर्दाखेरि किन नमिल्ने ?,’ सिंहले भने ।

सिंहले भने, ‘त्यसै कारण हामीले हिजो निर्णय गर्‍यौं कि हामी खुल्लमखुल्ला एलायन्समा छौं । यो शेरबहादुर र ओलीजीको गठबन्धनको विकल्पको रूपमा हामी एलायन्स खडा गर्दैछौं । त्यत्ति हो ।’

Published : Saturday, 2025 July 19, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया