सरकारी कार्यालय, बैंकका कागजात नक्कली बनाउने खड्का पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न सरकारी कार्यालयदेखि बैंकहरूका कागजात नक्कली बनाउने गरेको आरोपमा ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको छ ।

झापाको धरमपुर घर भएका खड्कालाई सीआईबीको टोलीले असार ३१ गते महाराजगञ्जबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

खड्काले विभिन्न सरकारी कार्यालयहरू, अदालत, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाका कागजातहरू नक्कली बनाउने गरेको पाइएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताएका छन् ।

खड्काको साथबाट टियुदेखि सीटीइभीटी, एचएसईबी, एनईबीको होलोग्राम समेत बरामद भएको छ । बैंकहरूका रबर स्ट्याम्प शैक्षिक संस्थाको प्रमाणपत्रहरू पनि बरामद भएका छन् ।

विगत दुई वर्षदेखि खड्काले नक्कली कागजात बनाउने गरेको पाइएको छ । प्रहरी, नापी, वडा, कर कार्यालयदेखि राजनैतिक दलका कागजात समेत खड्काले नक्कली बनाउने गरेको पाइएको छ ।

Published : Friday, 2025 July 18, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया