सुर्खेतमा हतियार र लागुऔषधसहित दुई जना पक्राउ
वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले चाइनिज हतियार र ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू, लागुऔषध र पेस्तोललाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ स्थित कृष्ण मन्दिर नजिकैको एक घरबाट उनीहरूलाई पक्राउ गरिएको शाहीले बताए ।
प्रहरीले उनीहरूको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने दुई थान म्यागजिन र १२ राउन्ड गोली बरामद गरेको छ ।
विभिन्न साइजका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र एक थान स्टिल स्टिक पनि बरामद भएको छ ।
प्रहरीले ठुलो परिमाणमा लागूऔषधसमेत बरामद गरेको छ । १४ सय २६ ट्याब्लेट ट्रामाडोल र नाइट्राजेपाम रहेको छ । प्रहरीले प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ एक थान पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढा थापाले बताए ।
पक्राउ परेका विधान शाही ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । शाहीमाथि ०७८ साल भदौमा निरज श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । सोही घटनामा संलग्न अन्य तीन जना पक्राउ परे पनि शाही फरार रहँदै आएका थिए । प्रहरीले पक्राउ परेका दुवै जनालाई लागूऔषध, हतियार तथा खरखजाना र वन्यजन्तुसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
उनीहरुले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध खरिद गरी सुर्खेतमा दसौँ गुणा महँगोमा बेच्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया