एमालेमा पदाधिकारीहरूको संख्या घटाउन प्रस्ताव, भण्डारीबारे पनि छलफल

काठमाडौं । एमालेले पदाधिकारीको संख्या घटाउने प्रस्ताव गरेको छ ।

बिहीबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन ।

प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल उक्त पदमा ईश्वर पोखरेल छन् । अब वरिष्ठ उपाध्यक्ष पद नराख्ने प्रस्ताव गरिएको छ ।

उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।

अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरूले धारणा राखेका छन् ।

अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।

यसैबीच, एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ । सचिव योगेश भट्टराईका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नै पूर्वराष्ट्रपति भण्डारीको विषयमा आवश्यक छलफल हुने बताएका हुन् ।

सचिव भट्टराईले भने, ‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि कुनै न कुनै बैठकमा छलफल हुन्छ ।’

‘फर्किन्छु भनेर आफ्नो सेवा सुविधा त्यागेर आइसकेपछि यो पार्टीको मामला भयो । उहाँ आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला,’ भट्टराईले पत्रकारहरूसँग भने ।

भण्डारीलाई जिम्मेवारी दिनेबारे उच्च तहमै छलफल हुनुपर्ने उनले बताए । ‘हाइ लेभलमा कुरा होस् भन्ने चाहना छ । त्यसपछि आवश्यक पर्यो भने सचिवालयमा छलफल गर्छौ, केन्द्रीय कमिटीमा छलफल गर्छौ,’ भट्टराईले भने ।

विधान महाधिवेशनको एजेण्डा तय गर्ने एमालेमा बिहीबारबाट बैठक सुरु भएको छ । सचिवालय बैठकपछि शुक्रबार पोलिटब्यूरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

Published : Thursday, 2025 July 17, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया