एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्वाचित

युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको अध्यक्षमा रमा अर्याल निर्वाचित भएकी छिन् ।

२०२५–२०२७ कार्यकालको लागि अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचनमा सबै पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका प्रमुख रमेश कँडेलले जानकारी दिएका छन् ।

एनआरएनए युगान्डाको नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अध्यक्ष अर्याल, वरिष्ठ उपाध्यक्षद्वयमा राजु थापा र तारा गिरी, महासचिवमा मालती राना मगर, सचिवमा मुकेश मेहता निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा बालकृष्ण सुनार, प्रवक्तामा हरि कटुवाल, युवा संयोजकमा टोपबहादुर आले तथा सदस्यहरूमा शाहिर कँडेल, सन्तोष विश्वकर्मा, नरेन्द्र शाही, गोविन्द भट्ट निर्वाचित भएका छन् ।

निर्वाचन प्रमुख कँडेलले नवनिर्वाचित अध्यक्ष अर्याललाई शपथ ग्रहण गराएका छन् । अध्यक्ष अर्यालले अन्य कार्यसमिति सदस्यहरूलाई संविधान बमोजिम शपथ गराएकी छिन् ।

अघिल्लो कार्यकालका महासचिव रहेका राजु थापाले २०२३–२०२५ कार्यकालको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रहेकी मालती रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।

नवनिर्वाचित अध्यक्ष अर्यालले यो कार्यकालमा संघको आफ्नै भवन निर्माणको लागि जमिन किन्ने प्रतिबद्धता व्यक्त गर्दै बलियो टोलीको सहकार्यमा लक्ष्य पूरा गर्ने बताएकी छिन् ।

Published : Monday, 2025 July 14, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया