झण्डै १५ लाख भ्रष्टाचार गरेको आरोपी वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाको तत्कालीन वडाध्यक्षसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा अभियोगपत्र दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ । कृषि फार्म नै नखोली रकम भुक्तानी गरेपछि वडाध्यक्ष दुर्गाप्रसाद रायसहित ७ जनाविरूद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।

२०७७÷७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न दिइएको रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

सबैला नगरपालिका वडा नं. ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, ईञ्जिनियर रंजितकुमार यादव, लेखापाल शिवकुमार झा, पशुसेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादव, प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुरको श्रीमती पलवी र रौनितविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

उनीहरूले कृषि फार्मका लागि लिएको १४ लाख ७७ हजार ५ सय रूपियाँ कुनै काम नै नगरी झुटा बिल तयार गरी रकम भुक्तानी गरेको अख्तियारको प्रवक्ता पौडेलले जानकारी दिए ।

उनीहरूले भुक्तानी गरेको रकम बराबर नै अख्तियारले बिगो माग दाबी गरिएको छ ।

Published : Monday, 2025 July 14, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया