महिलासहित ललितपुरबाट ११ जना जुवाडेहरू ठूलो रकमसहित पक्राउ
जावलाखेल । ललितपुरको कोणवहालस्थित घरबाट महिलासहित जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरधनी प्रेम महर्जनसहित अन्य १० जना छन् । महर्जनको घरको तेस्रो तल्लामा कौडा खेलिरहेको गोप्य सूचना पाएपछि २९ असार साँझ ६ः३० बजे ललितपुर प्रहरीको टोलीले छापा मारेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्ने अन्यमा ईमाडोलका रविन्द्र दहाल (४८), ललितपुर–८ का शंखर माली (४७), ललितपुर ११ का चौठीमुनी बज्राचार्य (६९), खोटाङ घर भई अहिले एकान्तकुना बस्दै आएका पूर्वा शेर्पा (२२), भैसेपाटीका कल्याण तामाङ (३६), काभ्रे घर भइ गोकर्णेश्वर बस्दै आएका केशव नेपाल (४५) छन् ।
चितवन घर भई हाल ग्वार्को, ललितपुर बस्ने वीर बहादुर वाईवा (५०), वडा नं. ११ का दिलेक बज्राचार्य (५६), गोकर्णेश्वरका गोकुलप्रसाद चौलागाईं (५१) र बुढानीलकण्ठका लक्ष्मी सुब्बा (४८) पनि हिरासतमा छन् ।
प्रहरीका अनुसार, जुवाडेहरू आ–आफ्नो सामुन्ने नगद राखेर हारजित हुने गरी कौडा खेलिरहेका थिए । घटनास्थलबाट प्रहरीले पाँच लाख १९ हजार ९ सय रुपियाँ र कौडा बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया